आत्महत्या दुरूसाहन आरोपमा दुई युवा पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ सफेवास्थित एक बालिकालाई दुरूसाहन गरेर आत्महत्या गराउन बाध्य बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले दुरूसाहन मुद्दामा दुई जना पक्राउ गरेको हो । प्रहरीले मिक्लाजुङ्ग गाउँपालिका–४ का २१ वर्षीय मदन लिम्बू र सोही ठाउँका २२ वर्षीय पारस राईलाई पक्राउ गरिएको इप्रका उर्लाबारीका इन्स्पेक्टर सुवास राईले जानकारी दिनुभयो । प्रहरीले दुवै जनालाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको हो ।

गत शनिबार १५ वर्षीय मन्जु नेम्वाङ्ग लिम्बूले सुसाइट नोट लेखेर आत्महत्या गरेकी थिइन् । आत्महत्या गरेकी बालिकाले सुसाइट नोटमा मदन र पारसका कारणले आत्महत्या गर्नुपरेको उल्लेख गरेकी थिइन् । ‘पीडित परिवारले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो,’ इप्रका उर्लाबारीका प्रमुख राईले भन्नुभयो, ‘बुधबार दुरूसाहन मुद्दामा म्यात थप गरि अनुसन्धान अनुसन्धान गरिनेछ ।’

पीडित परिवारले सोमबार इप्रका उर्लाबारीमा किटानी जाहेरी दिएको मृतका आफन्त महेन्द्र थेगिमले बताउनु भयो । घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने उहाँको भनाइ छ । मुलुकी फौजदारी संहिता १८५.२ मा आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । यो प्रकरणमा आत्महत्या गर्न बाध्य बनाएको पुष्टि भएमा कम्तिमा ५ वर्ष जेल सजाय हुन सक्ने कानुन व्यवसायीको भनाइ छ ।

बुधबार, १० बैशाख, २०७७, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर