अहिले कोरोना बाहेक अन्यत्र ध्यान मोड्ने बेला हैनः नेपाल

‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन ।’

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको कोरोना महामारीविरुद्ध लड्नुपर्ने मुल जिम्मेवारीबाट अन्यत्र ध्यान मोड्न नहुने बताउनुभएको छ ।

कोरोनाको महामारी चलिरहेको बेला सरकारले ल्याएको अध्यादेशको चौतर्फी आलोचना भइरहेको बेला नेता नेपालले सार्वजनिक रुपमा त्यसप्रति असन्तुष्टि जनाउनुभएको हो ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको पूर्वसन्ध्यामा मंगलबार एक विज्ञप्ति जारी गर्द नेता नेपालले अहिलेको मूल जिम्मेवारी कोरोनाको महामारी विरुद्ध लड्ने भएकोले अन्यत्र ध्यान मोड्न नहुनेमा जोड दिनुभएको हो । उहाँले पार्टी एकतामा आघात पुग्नसक्ने काम–कुरा कसैले गर्न नहुने पनि उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन ।’ नेता नेपालले पार्टीका सबै नेता कार्यकर्तालाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्न पनि आव्हान गर्नुभएको छ ।

हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै विज्ञप्तिमा व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविशवासबाट प्रेरित वा प्रभावित नभई अघि बढ्नुपर्ने उल्लेख गर्नुभएको छ ।

पार्टीलाई बिधिका अधारमा सहमति, समझदारी र बिश्वासका साथ अघि बढाउनुपर्नेमा पनि नेता नेपालले जोड दिनुभएको छ ।

मङ्गलबार, ०९ बैशाख, २०७७, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर