नेपालका अधिकांश संक्रमितमा कुनै लक्षण नहुँदा जोखिम बढ्यो

विराटनगर । मंगलबारसम्म नेपालमा १६ जना कोरोना संक्रमितको पहिचान हुँदा धेरैमा कुनै लक्षण नदेखिएकोले चिकित्सकहरुले चिन्ता जाहेर गरेका छन् ।

संक्रमण देखिएकामध्ये आधाभन्दा बढिमा कुनै पनि लक्षण नदेखिनुले जोखिम अझै बढ्ने उनीहरुको भनाइ छ ।

पछिल्लो पटक आइतबार संक्रमण पुष्टि भएकी कैलालीकी ६५ वर्षीया वृद्धा र रौतहटका १९ वर्षीय युवकमा कुनै लक्षण देखिएको छैन । यस्तै काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा मंगलबार कोरोना पुष्टि भएका दुई जनामा पनि लक्षण नभएको चिकित्सकहरुले बताएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका १ भुरुवाकी ६५ वर्षीया वृद्धाको र्यापिड टेस्टमा नेगेटिभ देखिएपछि क्वारेन्टाइनबाट घर फर्काइएको थियो । तर, पिसिआर परीक्षणमा पोजेटिभ पाइएपछि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरेर उपचार भइरहेको छ।

यसअघि कैलालीकै धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय महिलामा पनि लक्षणबिना नै कोरोनाको संक्रमण देखाएको थियो। कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतः रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन्।

तर, नेपालमा देखिएका अधिकांश केसमा कोरोनाको कुनै लक्षण नदेखिएकोले उनीहरुबाट कोरोना संक्रमण फैलने जोखिम देखिएको छ । सुदूरपश्‍चिममा पहिलो संक्रमण देखिएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकलाई भने सामान्य खोकी देखिएको थियो । उनीबाहेक सेती अस्पतालमा रहेका अन्य चारजना संक्रमतिमा कुनै समस्या र कोरोनाको लक्षण नरहेको अस्पतालले जनाएको छ ।

सोमबार कोरोना पुष्टि भएका रौतहटका युवकमा पनि कोरोनाको लक्षण नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । इशनाथ नगरपालिकाको क्‍वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ पाइएको थियो। ती युवामा कोरोना भाइरसको कुनै लक्षण देखा नपरेको गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण साहले बताउनुभएको छ ।

चिकित्सकहरुका अनुसार लक्षणबिना पनि कोरोना संक्रमण हुनसक्छ। तर, यस्ता संक्रमितले समुदायमा कोरोना फैलाउन भुमिका खेल्ने देखिएको छ ।

पछिल्लो समयमा संक्रमण देखिएकाहरुमा कोरोनाको स्रोत पहिचान नहुँदा अन्यौल बढेको छ । चिकित्सकहरुले सामान्यतयः १४ दिनभित्रमा कोरोनाको संक्रमण देखिने बताउने गरेका छन् । तर, काठमाडौंमा मंगलबार संक्रमण पुष्टि भएका सनसिटी अपार्टमेन्टका आमाछोरा एक महिना अगाडि लण्डनबाट आएको र बाहिरी सम्पर्कमा नरहेको पुष्टि भएको छ ।

पछिल्ला संक्रमणका केसहरुले नेपालमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिसकेको आशंका पनि बढाएको छ । बीरगञ्जमा संक्रमित भेटिएका भारतीय मुस्लिम धर्मगुरुहरुमा भएको संक्रमणको स्रोत पनि पहिचान नहुँदा थप जोखिम बढेको छ ।

संक्रमणमा लक्षण नहुँदा स्वास्थ्यकर्मीहरु पनि जोखिममा परेका छन् ।

मङ्गलबार, ०२ बैशाख, २०७७, दिउँसोको ०४:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर