विराटनगर । कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन घोषणा गरेको १७ दिनपछि प्रहरीले विराटनगरमा त्यसको पूर्ण रुपमा कार्यान्वयन गरेको छ ।
अन्य दिन लकडाउन भनिएपनि बजार र सडकमा सर्वसाधारण र सवारी साधनको चहलपहल बाक्लो हुने गरेकोमा शुक्रबार साँझबाट कडाई गरिएको हो ।
शनिबार विहानबाट प्रहरीले चोक–चोकमा बसेर लकडाउन उल्लंघन गर्नेमाथि कडाई गरेको छ । लकडाउन कडा पार्न नियमितभन्दा थप प्रहरी परिचालन गरिएको छ र ‘प्रहरीको साथी म’ अभियान अन्तर्गत वडामा गठित प्रहरीका साथीहरुसमेत परिचालित रहेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले सर्वसाधारणलाई घरमै बस्न र पसल बन्द गर्न आग्रह गर्दै माइकिङ पनि गर्दै आएको छ । सडकमा निस्किएका मानिसलाई जहाँ भेट्यो, त्यही उभ्याएर राखेको छ भने मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको मोटरसाईकल लकडाउन सकिएपछि मात्र फिर्ता दिने प्रहरीले जनाएको छ ।