विराटनगर । भारतमा पछिल्लो समयमा तीब्र गतिमा कोरोनाको संक्रमण फैलिएको पाइएको छ ।
गएको २४ घन्टामा भारतमा १ हजार ३५ जना नयाँ संक्रमित थपिएको छ भने थप ४० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार ६ सय पुगेको छ । पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २४९ पुगेको छ ।
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ५७४ जना पुगेको छ भने ११० जनाको ज्यान गएको छ। १८८ जना उपचारपछि घर फर्किएका छन् ।
भारतभरी ६३४ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा ९११ संक्रमित छन् । तीमध्ये २५ जना उपचारपछि घर फर्किएको बताइएको छ ।
केन्द्रीय राजधानी नयाँ दिल्लीमा संक्रमितको संख्या ९३० रहेको छ । दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी राजस्थान, तेलंगना र छत्तीसगढमा कोरोनाका संक्रमितहरु धेरै थपिएका छन् ।