धरान । लकडाउनको बेला मर्निङवाक हिँड्ने १६३ जनालाई शनिबार विहान सुनसरीको धरानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार ३४ महिलासहित १६३ जनालाई नियन्त्रणमा लिएर धरान–१२ स्थित पब्लिक हाइस्कुलको मैदानमा राखिएको छ ।
सरकारले गरेको लकडाउनको समयमा मर्निङवाक गर्नेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार पनि ९७ जनालाई नियन्त्रणमा लिएर साँझ ७ बजे छाडिएको थियो । उनीहरुका २९ वटा सवारी साधनहरूसमेत प्रहरी नियन्त्रणमा छन् । ती सवारी साधन भने लकडाउन खुलेपछि मात्र फिर्ता दिने प्रहरीले जनाएको छ ।
सर्वसाधरणहरुलाई दुई घण्टा खेलमैदानमा राखेर कोरोना भाइरस सम्बन्धी जानकारी दिएर मात्र प्रहरीले छाड्ने गरेको छ । यो अभियान लकडाउन भरी जारी रहने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । लकडाउनमा सार्वजानिक स्थल, र भिडभाडमा हिडन पाईदैन ।
शनिबारदेखि लकडाउन उल्लंघन भएका क्षेत्रहरुमा ब्यापक प्रहरी परिचालन गर्ने र लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने प्रहरीले बताएको छ ।