धरान । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गरिएको छ ।
विराटनगर स्थित विराट मेडिकल कलेजमा कार्यरत डा. गिरीलाई बिहीबार सरकारले उपकुलपतिमा नियुक्त गरेको हो ।
डा.गिरीलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले नियुक्त गर्नुभएको हो । गिरीलाई उपकुलपतिको पत्रसमेत प्रदान गरिसकिएको छ ।
विराटनगरको नोबेल मेडिकल कलेजका संस्थापक डा.गिरीले कोशी अस्पताल विराटनगरमा पनि लामो समय काम गर्नुभएको छ । गिरी अमेरिकाको विभिन्न मेडिकल कलेजका भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत रहिसक्नुभएको छ । मुटु रोग विशेषज्ञ डा.गिरी कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट भएर अवकासप्राप्त हुनुहुन्छ । उहाँले केही समय काठमाडौंको बिएण्डबी अस्पतालमा पनि काम गर्नुभएको थियो ।
गिरी अहिले विराट मेडिकल कलेजको सञ्चालक तथा मेडिसिन डिपार्टमेन्ट चिफ हुनुहुन्छ । मन्त्री ढकालले उपकुलपति नियुक्तीको प्रक्रिया सुरु भएदेखि नै डा.गिरीलाई उपकुपति बनाउने तयारी गरेको सार्वजनिक भएको थियो ।
उपकुलपतिका लागि बीपी प्रतिष्ठानभित्रैबाट प्रा.डा. सञ्जीवकुमार शर्मा र कार्यबाहक उपकुलपति प्रा.डा. गुरु खनालको नामसमेत सिफारिस भएको थियो । तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख रुपैयाँ घूससहित पक्राउ परेपछि खनालले कार्यबहाक उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो ।
प्रतिष्ठानको सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल नेतृत्वको सिफारिस समितिले करिब डेढ महिना अघि नै तीन जनाको नाम सिफारिस गरेको थियो ।