नेकपा सचिवालय बैठक

सरकारको काम प्रभावकारी बनाउन जोड

विराटनगर । सरकारको काम अझ प्रभावकारी बनाउन सुझाव दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को संयुक्त अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले सरकारलाई यस्तो सुझाव दिएको हो ।

बैठकमा नेताहरुले कोरोनाको जोखिम नियन्त्रण गर्न सरकारले लिएका नीति ठीक रहे पनि कार्यान्वयन अझै प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार करिब पाँच घण्टा बसेको सचिवालय बैठकमा सरकारले लिएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव सचिवालयका अधिकांश सदस्यहरुले दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीलाई एकताबद्ध बनाउने, कोभिड–१९ को विरुद्ध सरकारले ल्याएका कार्यक्रमलाई प्रभावकारी बनाउने र सिंगो देशलाई एकताबद्ध गराएर अगाडि बढाउने निष्कर्ष बैठकको रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। पार्टीभित्र अन्तरविरोध पैदा गर्ने वा कमजोर बनाउने काम कसैले गर्न नहुने बैठकको निष्कर्ष छ।

बैठकको सुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड – १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धि बारेमा जानकारी दिनुभएको थियो । यस्तै बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराउनु भएको थियो ।

बैठकमा पार्टीले दिएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेकोमा जोड दिनुभएको थियो । सरकारले गरेका निर्णय कार्यान्वयनमा सिंगो पार्टी परिचालित गर्न सरकारले सुझाव लिनुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको स्पष्टिकरण दिनुभएको थियो । डीजी स्तरमा सम्झौता भएको भन्दै उहाँले त्यो आफ्नो जानकारीभन्दा बहिरको कुरा रहेको बताउनुभएको एक नेताले जानकारी दिनुभयो ।

बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिः

प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालूप्रचण्डूको संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारंभमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड( १९ को रोकथाम, नियन्त्रण रउपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनुभयो । बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले यस कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएका कामहरूको विस्तृत जानकारी गराउनुभयो ।
बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिनुभयो ।
प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएर बैठक सम्पन्न भयो ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
नेकपा
२५ चैत २०७६

मङ्गलबार, २५ चैत, २०७६, रातीको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर