अस्पतालबाट भागेका सुनसरीका कोरोना संक्रमित वृद्ध पक्राउ

विराटनगर । भारतको अस्पतालबाटै भागेका सुनसरी घर भएका कोरोना भाइरस संक्रमित बृद्धलाई मंगलबार भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको अस्पतालबाट कोरोना संक्रमित सुनसरीको भोक्राहाका ६५ वर्षीय जमाती मुल्ला मोल्बी (सफिद मियाँ) सोमबार राति भागेका थिए । उनलाई मंगलबार पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत उनी अस्पतालको झ्यालको सिसा फुटाएर भागेको थिए । दिल्लीमा भएको तबलिगी जमाती समूहमा सहभागि हुन भारत गएपछि लकडाउनका कारण उतै रोकिएका उनको शुक्रबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो ।

बागपत प्रहरीका आईजी रेंज मेरठका अनुसार मंगलबार एक इँटाभट्टा नजिकबाट पक्राउ गरिएका बृद्धलाई पुनः अस्पताल भर्ना गरिएको छ । उनी भाग्नुको कारणबारे प्रहरीले सोधखोज गरिरहेको छ ।

भारतीय प्रहरीका अनुसार बृद्धको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। तर, तनाव वा अरू कारणले उनी भागेको हुनसक्ने अनुमान गरिएको छ । खेकडाको अस्पतालमा कोभिड १९ को उपचार गराइरहेका उनी एक मात्र व्यक्ति भएको प्रहरीको भनाइ छ।

तबलिगी जमातीका उनीसँगै रहेका दुई समूहका २७ जनालाई क्वारेन्टाइनमा राखिएको भारतीय प्रहरीले जनाएको छ । उनीहरुमा भने संक्रमण नभएको बताइएको छ ।

प्रहरीले अस्पतालबाट भागेका ती व्यक्तिले अरूमा पनि सङ्क्रमण गराउनसक्ने भन्दै उनलाई देख्नेबित्तिकै सूचना दिन अनुरोध गरेको थियो। बीबीसीको सहयोगमा

मङ्गलबार, २५ चैत, २०७६, रातीको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर