विराटनगर । कोराना भाईरसको आशंका गरी अस्पतालमा रहेका १५ जनाको थप परीक्षण गर्न सोमबार नमूना संकलन गरिएको छ ।
प्रदेश नंं. १ का विभिन्न अस्पतालमा नमूना संकलन गरि सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पठाईएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।
धरानबाट कोरोनाको परिक्षण शुरु भएपछि रिपोर्ट आउन छिटो हुनेछ । मन्त्रालयका अनुसार प्रदेश नं. १ बाट सोमबारसम्म ४३ जनाको नमूना संकलन भएको छ । जसमध्ये २८ जनाको रिपोर्ट आएकोमा सबैको नेगेटिभ रहेको प्रवक्ता डा. मेहताले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २५, कोशी अस्पताबाट ७, उदयपुर अस्पतालबाट १, मेची अस्पतालबाट ४, संखुवासभा अस्पतालबाट १, फिदिम अस्पतालबाट ४, सोलु अस्पतालबाट २ जनाको नमूना संकलन भएको छ ।
मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रणको लागि आवश्यकसामाग्रीहरु वितरण गरेको छ । मन्त्रालयले पीपीई सेट ३ सय थान, आईआर थर्ममिटर १७ थान, मास्क २२ हजार २ सय थान, ग्लोब्स १८ हजार ६ सय २६ थान, ह्याण्ड सेनिटाईजर ८ सय २१ थान र पीपीई गाउन ३७ वटा वितरण गरेको जनाएको छ ।

