विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा आइतबार ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वडाका १३ वटा टोलमा मास्क वितरण गर्नुभएको हो ।
टोलगत रुपमा प्रतिनिधिमार्फत मास्क वितरण गर्ने प्रबन्ध गरिएको थियो । कोइरालाले केही टोलहरुमा भने स्थानीयलाई आफैं गएर मास्क वितरण गर्नुभएको थियो । कोरोना संक्रमण खतराको बेला धेरै समूह भेला हुन नहुने भएकोले प्रतिनिधिमार्फत घर–घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको कोइरालाले बताउनुभयो ।
नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले जनचेतनाका लागि सानो प्रयास गरिएको बताउनुभयो । वडाका उत्तरबखरी, दक्षिण बखरी, पान्चाली, रोडशेष चौक, मझुवा, दरेहैया,दरेहैया आदर्श टोल, गढा टोल, कोशी प्रोजेक्ट, सिकियाही, मलहनुवा, कृष्ण मार्ग र सगरमाथा टोलमा मास्कसंगै दुई÷दुई थान साबुन पनि वितरण गरिएको कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र गोल्छाले जानकारी दिनुभयो ।