विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संकटको समयमा सहयोगी बन्न सदस्य विद्यालयहरुलाई आग्रह गरेको छ ।
कोरोना भाइरस(कोभिड–१९) को महामारी विश्वभर फैलिरहेको अवस्थामा सरकारले गरेको निर्णयलाई साथ दिनुपर्ने प्याब्सनले बताएको छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा राजधानीलगायत मुलुकका अन्य क्षेत्रमा केहि निजी विद्यालयले आगामी शैक्षिक सत्रका लागि भर्ना कार्यक्रम सुचारु राखेको जानकारी आएकोले त्यसलाई बन्द गर्न आह्वान गरिएको छ । भर्ना अभियान बन्द गरि कोरोना भाइरस विरुद्धको अभियानमा सहभागी हुन केन्द्रिय कार्यसमितिले अपिल गरेको हो ।
संकटपूर्ण घडीमा एकढिक्का भएर महामारीसँग जुध्न नेपाल सरकराले गरेको निर्णयहरुलाई साथ दिनुपर्नेमा प्याब्सनले जोड दिएको छ । यस्तो विषम घडीमा उत्पन्न हुने परिस्थितीसँग जुध्न प्याब्सनले जस्तोसुकै सहयोग गर्न तयार रहेको अध्यक्ष पुरीले बताउनुभयो ।