विराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिम कम गर्न विराटनगरका युवाहरुले सचेतना अभियानसँगै सेनिटाइजर वितरण गरेका छन् ।
विराटनगरका सक्रिय युवा अभियान्ता पेरिस सुवेदीको नेतृत्वमा कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि निःशुल्क रुपमा हात सफा गर्ने सेनिटाइजर वितरण गरिएको हो ।
बजारमा सेनिटाइजर र मास्क अभाब भएको बेला विराटनगरकै शिक्षादिप उच्च माविको सहयोगमा युवाहरुले घरैमा बनाएको सेनिटाईजर वितरण गरेका हुन् । शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र जेनेरल अस्पताल एण्ड ट्रमा हस्पिटलका दिपक राय तथा जयप्रकाश रायले सेनिटाईजर बनाउन आवश्यकय सामाग्री उपलब्ध गराएका थिए ।
युवाहरुले घरैमा रेक्टिफाइड स्प्रिड र ग्लिसिरिनको प्रयोगबाट हात सफा गर्ने सेनिटाइजर तयार पारेका थिए । कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै विराटनगरका ६ स्थानमा ६ सयभन्दा बढि सेनिटाईजर वितरण गरेको युवाहरुले बताएका छन् । प्रहरी, ट्राफिक, बालबालिका र बृद्धवृद्धाहरुलाई सेनिटाईजर निःशुल्क वितरण गरिएको थियो ।
विराटनगरको पूर्वाअञ्चल बाल आश्रममा रहेका बालबालिका तथा बृद्धबृद्धा, विराटनगर १० मा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेकाहरुलाई सेनिटाईजर वितरण गरिएको छ । युवाहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालयमा समेत सेनिटाईजर वितरण गरेको छन् । पुष्पलाल चोकमा पनि जेष्ठ नागरिककाहरु सेनिटाईजर वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख विश्व अधिकारीलगायत त्यहाँ कार्याररत २ सय बढी प्रहरीहरुलाई सेनिटाईजर वितरण गरिएको सुवेदीले जानकारी दिनुभयो ।