विराटनगर । सामुदायिक विद्यालयहरुले गैरकानूनी रुपमा रकम असुलेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मोरङले आपत्ती जनाएको छ ।
बिहीबार विज्ञप्ती जारी गर्दै अनेरास्ववियूले सामुदायिक विद्यालयले चर्को शुल्क उठाएको तथ्यले थप गम्भीर र चिन्तित बनाएको उल्लेख गरेको छ ।
मोरङको सुन्दरहरैचा स्थित सुकुना माविले प्राविधिक धारतर्फका विद्यार्थीबाट सहयोगको नाममा शुल्क उठाउने गरेको खुलेको थियो । सरकारले प्रत्येक विद्यालयलाई ९ जना शिक्षकको दरबन्दी र आवश्यक भौतिक पूर्वाधारका लागि बजेट उपलब्ध गराएपनि विद्यार्थीबाट सहयोगको शुल्क असुल्नु गलत भएको अखिलको भनाइ छ ।
संगठनका संयोजक सन्तोष घिमिरे र सहसंयोजक टेकेन क्षेत्रीले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाल सरकारका विभिन्न मितिमा निशुल्क अध्यापन गराउन गरेको परिपत्र र विद्यार्थी संगठनको आह्वानलाई वेवास्ता गरेर शुल्क उठाइए कानूनी तथा अन्य विकल्प खोज्न बाध्य हुने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमका नाममा विद्यार्थीहरुबाट गैरकानुनी ढंबाट उठाइरहेको शुल्कप्रति पनि ध्यानाकृष्ट भएको जनाइएको छ । सुकुना माविले शिक्षा विकास सहयोगका नाममा रसिद काटेर पहिलो किस्ता, दोस्रो किस्ता र कोचिङ शिर्षककमा प्रतिव्यक्ति २६ हजार ७ सय रुपैयाँसम्म उठाएको पाइएको छ ।
सरकारले ७७ जिल्लाका ४ सय ३३ विद्यालयहरुमा सिभिल इन्जिनिरिङ, कम्प्युटर, इलेक्ट्रिकल, पशु तथा वालि विज्ञानलगायतका प्राविधिक विषय अध्यापन गराइरहेको छ ।