धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकाले नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर लोगो’ बनाएको छ ।
धनकुटाकै कान्छो नगरपालिकाले पहिलो नगरसभाबाट पारित गरेर नगर लोगो तयार पार्ने निर्णय भएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिनुभयो ।
‘महालक्ष्मी नगरबासीको छुट्टै पहिचान देखाउने लोगो बनेको छ,’ नेपालले भन्नुभयो, ‘नगरपालिकाको साँस्कृतिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, भौगोलिक तथा बहुपहिचानको झल्को दिनेगरी नगर लोगो तयार गरेका हौं ।’ हालै सम्पन्न भएको नगरसभा अधिवेशनले नगरपालिकाको पहिचान स्थापित गर्न नगर लोगो पास गरि कार्यान्वयन ल्याएको र नगर गानको लागि तयारी थालिएको नगर प्रमुख नेपालले बताउनुभयो ।
नगर लोगोमा नगरपालिका क्षेत्रमा पाइने लालिगुँराश र रुद्राक्ष, नगरपालिकाको नाम रहेको महालक्ष्मी मन्दिर, नगरपालिकाको नक्सा, नेपालको झण्डा र नगर क्षेत्रमा पाईने जडिबुटी समावेश गरिएको छ । नगरपालिकाले आफ्नै नगर गानको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
नगर गानका लागि बनेको समितिले काम गरिरहेको छ । आफ्नै पहिचान झल्काउने गरी नगर गान अर्थात म्युनिसिपल एन्थम बनाउन लागेको नगरपालिकाले जनाएको हो ।
‘नगर गान’ तयार भएपछि नगरपालिकाका हरेक औपचारिक कार्यक्रमहरुमा राष्ट्रिय गानजस्तै कार्यक्रम सुरु हुनुभन्दा अगाडि सामूहिक रुपमा गाउने नियम बसालिनेछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदीका अनुसार गानको लागि १ महिनाको म्याद दिएर सूचना जारी गरी रचना माग गरिएको छ ।
संकलन भएका १५ वटा गानलाई स्थानीय महालक्ष्मी बौद्धिक समाजले एक कार्यक्रमको आयोजना गरि वाचन गराएको थियो । तीमध्ये उत्कृष्टलाई छनौट गरेर संगीत भरेर नगरसभाले पारित गरेपछि नगर गान लागू हुनेछ ।
जातीय सद्भाव, लैंगिक समानता, भौगोलिक, प्राकृतिक र ऐतिहासिक सम्पदा उजागर गर्ने शब्दले भरिएका रचनालाई नगर गानमा प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ । संघीयताको कार्यान्वयन गर्न अधिकार सम्पन्न स्थानीय सरकार हो भन्ने प्रभाव छाड्न पनि नगर गान लागू गर्न लागिएको नगर प्रमुख नेपालको भनाइ छ ।