भोजपुर । कोरोना भाइरस (कोभिड १९) बाट बच्न भोजपुरको अरुण गाउँपालिका ७ नम्बर वडा, जरायोटारले निःशुल्क मास्क वितरण सुरु गरेको छ ।
वडाबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले १ हजार ४ सय नागरिकलाई निःशुल्क मास्क वितरण गरिएको हो ।
बजारमा मास्कको अभाव बढ्दै गएपछि जरायोटार वडाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको वडाध्यक्ष डिल्लीराम अधिकारीले बताउनुभयो । वडाका करिब २ हजार ५ सय नागरिकलाई निःशुल्क मास्क वितरण गरिनेछ । सबै वडाबासीलाई २ वटाका दरले मास्क वितरण गर्ने अधिकारीले जानकारी दिनुभयो ।
वडाले आफ्ना नागरिकलाई भिडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्नसमेत अनुरोध गरेको छ । बजारमा मास्कको संकट भएकाबेला वडाले वितरण गरेको मास्क अभियानलाई सबैले सह्राना गरेका छन् ।
वडाले सेवा लिन आउने सेवाग्राहीलाई औषधि समेत वितरण गरेको छ । यसअघि वडाले सामुदायिक विद्यालयका ३ सय १५ विद्यार्थीलाई माक्स वितरण गरेको थियो ।