विराटनगर । प्रदेश सरकारले संघीय कानून नबन्दा अहिलेसम्म शान्ति सुरक्षाको जिम्मेवारी पाउन नसकेको भएपनि शान्ति सुरक्षालाई बलियो पार्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
प्रदेश सरकारले शान्ति सुरक्षाको क्षेत्रलाई सुदृढ बनाउन सुरक्षाकर्मीलाई बलियो बनाउने गरी लगानी गरिरहेको छ ।
प्रदेश सरकारले १ नं. प्रदेश प्रहरी हेडक्र्वाटर र प्रदेशभित्रका ४९ वटा प्रहरी चौकीको निर्माण गरिरहेको छ । सशस्त्र प्रहरी बलका लागि झापाको टाघनडुब्बा, भागडुब्बा, घेराबारी, कुञ्जीबारी, पृथ्वीनगर र केचना मोरङ्गको रङ्गेली, सोराभाग र दरैया तथा सुनसरीको अमडुवा, साहेबगञ्ज, कप्तानगञ्ज र घुस्की गरि १३ स्थानमा बोर्डर आउट पोष्ट भवन निर्माण गरेको छध ।
सुरक्षाकर्मीलाई साधन र स्रोतको अभाब नहोस् भनेर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २ सय ५० थान मोटरसाईकल र १७ थान चारपाङ्गे्र सवारीसाधन हस्तान्तरण गरिसकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीका अनुसार सुरक्षालाई बलियो बनाउन मोरङ्ग, सुनसरी, उदयपुर, ईलाम र धनकुटा जिल्लाका विभिन्न स्थानहरुमा सि.सि.टी.भी क्यामेरासमेत जडान गरिएको छ ।
सरकारले कारागार सुधार कार्यक्रम अन्तर्गत प्रदेशका १४ वटै जिल्लाका कारागार कार्यालयहरुको मर्मत सम्भार गरेको छ । यसका अतिरिक्त सडक सुशासन कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीहरुलाई राडर गन, बे्रथलाईजर, ह्वीललक, मास्क र फ्लोरिसन ज्याकेट हस्तान्तरण गरिएको छ । प्रदेश ट्राफिक कार्यालयको समन्वयमा ट्राफिक सचेतनामूलक कार्यक्रम समेत सञ्चालनमा ल्याईएको मन्त्री कार्कीले बताउनुभयो ।
प्रदेश सरकारले विगतका २ बर्षलाई आधार बर्षका रुपमा लिई प्रमुख योजनाहरु प्रभावकारी ढङ्गले अगाडि बढाएको जनाएको छ । आगामी दिन र वर्षहरु उपलब्धिमुलक र परिणाममुखी साबित हुने सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले दावी गर्नुभयो ।