विराटनगर । प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक केदार कार्कीले लामो समयदेखि प्रदेशसभाका एक जना सांसद हराइरहेकोले खोजी गर्नुपर्ने बताउनुभएको छ ।
प्रदेशसभाको विशेष समय लिएर बोल्नुभएका प्रमुख सचेतक कार्कीले सांसद हराएपनि कतैबाट खोजी नभएको, पत्रिका र रेडियोबाट सूचना जारी नभएको भन्दै व्यङ्ग्य गर्नुभयो ।
प्रदेशसभा सदस्य गुलेफुन खातुन फरार भएको तर प्रदेशसभा मौन बसेको विषयमा कार्कीले यस्तो व्यङ्ग्य गर्नुभएको हो । प्रदेशसभा सदस्य खातुनलाई किर्ते जालसाँची गरेको अभियोगमा जिल्ला अदालत मोरङले कैद तथा जरिवानाको सजाय सुनाएको छ । उहाँले उच्च अदालतमा गरेको पुनारावेदनमा पनि दोषि ठहर भएपछि खातुन एक महिनाभन्दा धेरै समयदेखि संसदमा अनुपस्थित हुनुहुन्छ ।
प्रमुख सचेतक कार्कीले भन्नुभयो ‘यहाँ एक जना सांसद हराइरहनुभएको जस्तो लाग्छ । धेरै दिनदेखि एक जना सांसद देखिरहेका छैनौं । बाहिर सहि गरेको देखिदैन । भित्र हेर्दापनि हुनुहुन्न । हराएको सांसद कहाँ हुनुहुन्छ ? पत्रिकामा खोजी हुन्छ कि हुदैन ? यहाँ रेडियोमा बालक हराएको जस्तै सांसद हराएको सूचना हामीले पाउने कि नपाउने ? हामीले सांसद हराएको सूचना पाइरहेका छैनौं । सांसद खोज्न कता जाने हो ? कसले खोज्ने हो ? हामीले सांसद खोज्नु पर्ने बेला आएको छ ।’