विराटनगर । उदयपुर र मोरङका २ स्थानबाट बुधवार राति प्रहरीले नियन्त्रित लागुऔषध गाँजा बेचबिखन तथा ओसारपसारमा संग्लग्न रहेका ८ जनालाई पक्राउ गरेको छ ।
मोरङको जहदा ३ का ५० वर्षीय बाबुलाल सोरेन प्रतिबन्धित लागुऔषध गाँजासहित पक्राउ परेका हुन् । सोरेनले घरबाटै गाँजा बिक्रि बितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सोनलाई बुधबार राति घरमा लुकाईराखेको ५०० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । गाँजासहित उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान भइइरहेको प्रहरीको भनाइ छ ।
उता उदयपुरको बेलका नगरपालिका ३ चिचिला टप्पुमा लागुऔषध गाँजाको बिक्री बितरण तथा ओसार पसार भईरहेको सूचना पाएपछि पुगेको प्रहरीले स्थानीय २९ वर्षीय श्याम माझीलाई २ केजी गाँजासहित घरबाट नै पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले गाँजा ओसारपसारमा संग्लग्न रहेका स्थानीय २६ वर्षीय मदन माझी, २२ वर्षीय किर्तिमान माझी, १९ वर्षीय सुकमान माझी, १८ वर्षीय सरोज गेलाल, १९ वर्षकै जय माझी र ६० वर्षीय बुद्धीमान माझीलाई समेत पक्राउ गरेको छ ।
बुद्धिमान माझीले घरनजिकै केराघारीमा लुकाईछिपाई राखेको थप २ केजी गाँजासमेत बरामद गरेको हो ।