विराटनगर । नग्न तस्बीर देखाएर पैसा नदिए भाइरल गर्दिने डर देखाउँदै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा मागेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैचाका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।
सुन्दरहरैंचा–५ की १९ वर्षीय प्रीति तिम्सिना (अधिकारी)लाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले यसअघि दुई जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले सुन्दरहरैंचा–४ का २३ वर्षीय हिमाल आचार्यलाई पनि पक्राउ गरेको हो । फेसबुकबाट नजिकिएका सुन्दरहरैंचा–४ का २४ वर्षीय ऋषिराम भट्टराईले नग्न फोटो र भिडियो देखाएर ‘ब्ल्याकमेलिङ’ गर्दै नियमित पैसा माग्न थालेपछि उनले फागुन ८ गते आत्महत्या गरेकी थिइन् ।
ऋषिरामले भिडियो ‘फेक’ फेसबुक आइडीमार्फत प्रीतिसँग ‘ब्ल्याकमेलिङ’ गर्दै आएका थिए । ‘ड्याजेलिङ क्विन’ र दीपा नामको ‘फेक’ फेसबुक बनाएर उनले ‘ब्ल्याकमेलिङ’ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘ब्ल्याकमेलिङ’ गरेर पैसा दिने–लिने टुंगो भइसकेपछि ऋषिरामले पैसा लिन सुन्दरहरैंचा–६ की १९ वर्षीया सञ्जिता निरौलालाई पठाउने गरेका थिए । ऋषिराम र सञ्जितालाई पक्राउ गरेको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा यो घटनामा आचार्यको पनि संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरेको हो ।
तीन जनाको मिलेमतोमा ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ हुने गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो । ब्ल्याकमेलिङ गर्दै पटक–पटक पैसा माग्ने क्रम नरोकिएका कारण र भिडियोका कारण बद्नाम हुने डरले प्रीतिले आत्महत्या गरेको सुसाईड नोटबाट पनि खुलेको छ ।
आचार्यले पनि केटी बनेर प्रीतिसँग ऋषिराम जस्तै कुराकानी र ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाउन अदालतबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाएको छ । ‘ब्ल्याकमेल’ गर्दै लगातार पैसा माग्न थालेपछि तनावमा रहेकी प्रीतिले चार महिनादेखि ‘डिप्रेशन’को औषधि समेत सेवन गर्दै आएको खुलेको छ ।