उर्लाबारीका तीन सहकारी एकीकृत हुने

उर्लाबारी । मोरङको उर्लाबारीका तीन सहकारी संस्थाबीच एकीकरण गर्ने सहमति भएको छ ।

बलियो पूँजी र उचित व्यवस्थापनका लागि उर्लाबारीमा स्थापित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि., सुनपकुवा स्वालम्वी बचत तथा ऋण सहकारी संस्था लि. र महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.बीच एकीकरण गर्ने सहमति भएको हो ।

शनिबार तीन सहकारीको संयुक्त भेलाले एकीकरणका लागि हाम्रो साकोसका अध्यक्ष डिबी थापाको संयोजकत्वमा ९ सदस्यीय संयुक्त कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा पदम सापकोटा, सर्सूदेवी गुरुङ, रामप्रसाद गौतम, शिला दाहाल, रामकुमार बुढाथोकी, मनोरथ भण्डारी, पुजन परियार र रमेश सुवेदी रहनुभएको छ ।

त्यस्तै, जिल्ला बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइरालाको संयोजकत्वमा तीन सदस्य एकीकरण सल्लाहकार समिति गठन गरेको छ । जसको सदस्यमा हाम्रो साकोसका पूर्वअध्यक्ष गंगाप्रसाद बाँस्तोला र महिला उत्थान साकोसकी पूर्वअध्यक्ष विद्या चाम्लिङ रहनुभएको छ ।

तीन वटै सहकारीको आगामी साधारणसभाबाट एकीकरणका लागि प्रक्रिया अघि बढाउने र त्यसको तीन महिनाभित्र एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्ने सहमति बनेको कार्यदलका संयोजक डिबी थापाले जानकारी दिनुभयो । तीन सहकारी एकीकरणपछि ११ हजारभन्दा बढी शेयर सदस्य र कुल पूँजी ६१ करोडभन्दा बढी हुनेछ भने शेयर पूँजी ६ करोड बढी पुग्ने जनाइएको छ ।

एकीकृत सहकारीले वार्षिक रुपमा १ अब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने बताइएको छ । तीन सहकारी एकीकरणपछि जिल्लाकै ठूलो सहकारीको रुपमा स्थापित हुने संयोजक थापाको दाबी छ । तीन सहकारीको करिब ६ कट्ठा जग्गामा सुविधासम्पन्न तीन वटै भवनसमेत छ ।

तीन सहकारीको पूर्वी मोरङको उर्लाबारी, मिक्लाजुङ, रतुवामाई, पथरीशनिश्चरे, लेटाङ र झापाको दमक कार्यक्षेत्र रहेको छ ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर