विराटनगर । टिभी रियालिटी शो कमेडी च्याम्पियनमा प्रतिष्पर्धा गरिरहेका मोरङका सुमन कार्की टप ५ बाट बाहिरिएका छन् ।
प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जितेका उनले पर्याप्त भोट नपाएपछि बाहिरिन बाध्य भएका हुन् । टप ५ मा उनले दिएको प्रस्तुति औसत थियो । नेपाली भाषामा अंग्रेजीको घुसपैठलाई लिएर व्यंग्य रचना गरेका उनको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । यद्यपी आवश्यकता अनुशारको भोट नपाउँदा उनले बाहिरीनु परेको हो ।
मोरङको इटहरा स्थित सुनाखरी एफएममा काम गरेका कार्की पछिल्लो केहि वर्षदेखि हाँस्यब्यङ्ग्यका क्षेत्रमा आफूलाई स्थापित गर्न लागिपरेका छन् । देशका विभिन्न क्षेत्रमा पुगेर आफ्ना प्रस्तुती राखिसकेका कार्की प्रतिष्पर्धामा उपाधिका दावेदारका रुपमा हेरीएको थियो । तर सुमन कोइराला, खड्गबहादुर पुन मगर, विष्णुप्रसाद (मेक्सम) गौडेल र हिमेश पन्त टप ४ मा छनोट हुँदा कार्की बाहिरिनु परेको हो । पछिल्ला दुई एपिसोडमा कमजोर देखिएका हिमेशलाई भने दर्शकको भोटले जोगाएमात्रै छैन । ‘पर्फमर अफ द डे’ बनेर सिधै टप ३ मा स्थान पक्का बनाए । अब बाँकी दुई सिटका लागि सुमन कोइराला, खड्गबहादुर पुन मगर र मेक्सम गौडेलले प्रतिस्पर्धा गर्नेछन् । टप ३ मा पुग्नेहरु फाइनल राउन्डमा उपाधिका लागि भिड्नेछन् ।