धरान, १ फागुन÷ असुरक्षा भएको भन्दै सप्तकोशी नदीमा सञ्चालित साना पानी जहाज (जेटबोट)हरुले सेवा बन्द गरेका छन् ।
सप्तकोशी नदीमा साना पानीजहाज सञ्चालन गरिरहेका चार वटा कम्पनीहरुले सामूहिक प्रेस विज्ञप्ती जारी गर्दै स्थानीहरुबाट असुरक्षा भएको र स्थानीय प्रशासनले सुरक्षा दिन नसकेको गुनासो गरेका छन् । सप्तकोशी नदीमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिसोर्स् प्रालि र सप्तकोशी वाटर टुरिजम एण्ड ट्रान्सपोर्टेसन प्रालिले जेटबोट सञ्चालन गर्दै आएका थिए । जेटबोट सञ्चालनबाट घण्टौं लाग्ने चतरादेखि भोजपुरसम्मको यात्रालाई केही मिनेटमा नै सिमित गरेकोमा राज्यले सुरक्षा दिन नसकेको व्यवसायीहरुको गुनासो छ ।
सप्तकोसीमा दुई वर्षअघि जेटबोट सञ्चालनमा आएको थियो । एक वर्षदेखि भने नियमित सञ्चालन हुने गरेको थियो । तर, स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायत माग राख्न थालेपछि बन्द गर्नुको विकल्प नरहेको जल यातायात व्यवसायीले बताएका छन् ।
सप्तकोसीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सात वटा पानी जहाज चल्दै आएका छन् । पानीजहाज सहिदभूमिको त्रिवेणीमा रोकिएको सप्तकोसी टुरिजमका सञ्चालक राजेन्द्र कार्कीले बताउनुभयो । जेटबोटबाट दैनिक चारदेखि पाँचसय यात्रुले सेवा पाइरहेका थिए ।
सप्तकोसीमा तीन सिटका तीन, आठ सिटका दुई, सत्तरी सिटको एक र अठार सिट क्षमताको एउटा गरी ६ बोट सञ्चालन हुँदै आएका थिए । खासगरी चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई पानी जहाज सञ्चालनमा आएपछि आउजाउमा सहज भएको थियो ।
सरकारको पानीजहाज चलाउने सपना पुरा गर्न विदेश तथा स्वदेशमा निर्माण गरि करोडौंको लगानी गरेका व्यवसायीहरुप्रतिको सरकारको उदासिनता देख्दा व्यवसायीहरु निराश बनेको विज्ञप्तीमा जनाइएको छ ।
जल यातायात व्यवसायी महासंघले यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र जहाज सञ्चालन गर्ने जनाएको छ ।