विराटनगर । २०७९ सालको निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले १४ सिटमा विजयी हासिल गर्यो । एमालेले ताप्लेजुङ, पाँचथरसहित इलामको दुईवटै निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्यो । झापामा २, ४ र ५ नम्बर क्षेत्रमा विजयी भयो । मोरङमा २ नम्बर निर्वाचन क्षेत्र, सुनसरीमा २ र ३ नम्बर निर्वाचन क्षेत्रमा विजयी भयो । यस्तै धनकुटा, सोलुखुम्बु र उदयपुरको २ नम्बर निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेद्वार विजयी भए । एमालेले समग्र प्रदेशमा १४ वटा निर्वाचन क्षेत्रमा विजयी बनेको थियो ।
यस्तै प्रमुख प्रतिस्पर्धी पार्टी नेपाली काँग्रेसले झापाको १ नम्बर, संखुवासभा, तेह्रथुम, मोरङको १, ३ र ६ नम्बर क्षेत्र, सुनसरीको ४, उदयपुरको १ नम्बर क्षेत्र र ओखलढुंगामा विजयी हुँदै ८ वटा निर्वाचन क्षेत्र सुरक्षित गर्यो ।
तेस्रो स्थानमा रहेको नेकपाले भने कोशी प्रदेशमा जम्मा तीन सिट सुरक्षित गरेको थियो । जसमा मोरङ ४, भोजपुर र खोटाङमा जित निकालेको थियो । त्यसबाहेक मोरङको ५ नम्बर निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेद्वार योगी मण्डलले जिते भने सुनसरीको १ बाट जसपाबाट अशोक राई तथा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनले निर्वाचन जितेका थिए ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भने परिस्थिति फेरिएको छ । अहिले एमालेको आधार क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता काठमाडौंका बालेन्द्र शाहले हमला गरेका छन् । सो हमलाबाट एमालेका लागि कोशी प्रदेशमा विगतमा जितेका सिट सुरक्षित गर्न गाह्रो पर्ने विश्लेषण हुन थालेको छ । एमाले आफैंले पनि १० देखि १२ सिटसम्म सुरक्षित गर्न सकिन्छ भन्ने आँकलनसहित चुनावी मैदानमा रहेको स्रोत बताउँछ । ‘हामीले १२ वटा सिटसम्म जित्न सकिन्छ कि भनेर प्रतिस्पर्धा गरिरहेका छौं,’ उक्त स्रोत भन्छ । यद्यपि एमालेका केन्द्रीय सचिव समेत रहेका कोशी प्रदेशका इन्चार्ज शेरधन राई उक्त कुरालाई अस्वीकार गर्दै एमालेले कोशीमा बहुमत जित निकाल्ने दाबी गरेका छन् ।
उता, २०७९ सालको निर्वाचनमा ८ तत्कालिन माओवादीसहित गठबन्धन गरेको नेपाली काँग्रेसले अपेक्षित जित निकाल्न सकेको थिएन । यस पटक भने विशेष महाधिवेशन पक्षधर र अर्को पक्षबीच एक अर्कालाई असहयोग हुने हो कि भन्ने डर नेताहरुमा देखिन्छ । ‘हाम्रो प्रतिस्पर्धा एमालेसँगै हो । तर, अन्तिमसम्म पार्टीभित्र घात अन्तरघात रोकियो भने हामी पहिलो हुन्छौं,’ काँग्रेसका एक नेताले भने । काँग्रेस स्रोतका अनुसार अहिलेसम्म काँग्रेसले जित निकाल्ने क्षेत्र कुन हो भन्दा मोरङ ३ भन्ने मात्रै देखिएको छ । ‘अहिले कन्फर्म भनिएको मोरङ ३ मात्रै देखिन्छ । झापा, मोरङ र सुनसरीमै हाम्रो कमजोर छ । पहाडमा पनि घण्टी र माटोले अवस्था खराब गरेको छ,’ उक्त स्रोत भन्छ । काँग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राई भने यस पटक एमालेको जनाआधार कमजोर भएको र अरुको जित्ने गरीको अवस्था नहुँदा काँग्रेस कोशीमा पहिलो पार्टी हुने बताउँछन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले भने आफ्नो विगतको ३ सिटबाट बढाएर ६–७ वटामा जित निकाल्ने दाबी गरेको छ । नेकपाका नेता इन्द्रबहादुर आङ्बो गएका निर्वाचनहरुको जस्तो अहिले हिसाव ननिस्कने बताउँछन् । उनी भन्छन्, ‘विगतमा जस्तो बलियो भनिएका काँग्रेस र एमालेको सांगठनिक आधार छैन । उनीहरु छिन्नभिन्न भएका छन् । हाम्रो पार्टी एकताबद्ध छ । नयाँ आएकाहरु जित्ने गरी आउने अवस्थामा देखिँदैनन् । हाम्रो अवस्थामा धेरै सुधार हुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका तेजलाल कर्ण भने रास्वपाले बहुमत सिट जित्ने दाबी गर्छन् । ‘पुराना दलहरुले काँही पनि जित्ने अवस्था छैन । नसोचेको ठाउँबाट हाम्रो पार्टीका उम्मेद्वार निर्वाचित हुने अवस्था देखिन्छ,’ उनले भने, ‘झापामा हामीले ५ वटै जित्ने अवस्था छ । मोरङ र सुनसरीमा पनि त्यस्तै छ ।’
उता, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि बहुमत जित्ने दाबी गर्दै आएको छ । सो पार्टीका प्रवक्ता सत्य घलेले पहाडी जिल्लाहरु सबै जित्ने र तराईका पनि दक्षिणी बेल्ट बाहेक अन्य क्षेत्रमा जित निकाल्न सक्ने बताउँछन् ।
यसबाहेक राप्रपाले पनि अध्यक्ष राजेन्द्र लिङ्देनको जितलाई सुनिश्चित भन्दै आएको छ । यसअघि झापा ३ बाट जित्दै आएका उनलाई एमालेले सघाउने गरेको थियो । यस पटक पनि आफू असुरक्षित हुने भएपछि अन्तिम समयसम्ममा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सहमति हुने चर्चा हुँदै आएको छ । एमाले र काँग्रेसले आ–आफ्ना विगतको विरासत सुरक्षित गर्न कोशिस गरिहरँदा अन्य पार्टीहरु भने उक्त बिरासत भत्काएर रेकर्ड बनाउने दाउमा छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।