लोड हुँदैछ...

मेनु

असार १५ मा ७५ लाख लिटर दही खपत हुने, १ अर्बको कारोबार हुने अनुमान

असार १५ मा ७५ लाख लिटर दही खपत हुने, १ अर्बको कारोबार हुने अनुमान

काठमाडौं । नेपाल डेरी एसोसिएसनले यस वर्षको असार १५ गते ९राष्ट्रिय धान दिवस० का अवसरमा देशभर ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ । बिहीबार काठमाडौंमा ‘दही चिउरा प्रवर्द्धन कार्यक्रम’ आयोजना गर्दै एसोसिएसनले सो जानकारी दिएको हो ।

एसोसिएसनका अनुसार असार १५ गते हुने दहीको यो ठुलो मात्राको खपतबाट करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । नेपाली समाजमा असार १५ मा दही चिउरा खाने परापूर्वकालदेखिको मौलिक परम्परा रहेकाले यस दिन दहीको माग अत्यधिक हुने गर्दछ ।

कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि संस्कृति र स्वदेशी उत्पादनबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ूस्वदेशी दुग्धजन्य पदार्थको उत्पादन र उपभोगलाई राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाउनुपर्छ, यसका लागि एसोसिएसनले निरन्तर पहल गरिरहेको छ ।ू

अध्यक्ष दाहालले दुग्ध क्षेत्रमा रहेका समस्याहरूका बारेमा पनि चर्चा गर्नुभयो । उहाँले किसानहरूले उत्पादन गरेको दूधको उचित मूल्य पाउनुपर्ने, समयमै भुक्तानी हुनुपर्ने र दुग्ध उद्योगको दिगो विकासका लागि राज्यका सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली संस्कृतिमा असार १५ लाई ‘मानो रोपेर मुरी उब्जाउने’ समयका रूपमा लिइन्छ । रोपाइँको चटारोबीच शरीरमा ऊर्जा र शीतलता प्राप्त गर्न दही चिउरा खाने गरिन्छ, जसले गर्दा यो दिनलाई ‘दही चिउरा खाने दिन’ का रूपमा समेत चिनिन्छ । एसोसिएसनले यस्ता पर्वहरूले स्वदेशी दुग्ध बजारलाई चलायमान बनाउन ठुलो भूमिका खेल्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।