विराटनगर । कोशी प्रदेशका सुनसरी र झापामा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र खैरो हिरोइनसहित नौ जनालाई पक्राउ गरेको छ।
बरामद लागूऔषधसहित पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी तथा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुधबार दिउँसो ४ः२० बजे प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक इटहरी–४ निवासी ४३ वर्षीय बिशे चौधरी र पछाडि सवार सोही स्थानका ४३ वर्षीय भुपनारायण चौधरीलाई नियन्त्रणमा लिइयो। जाँचका क्रममा बिशे चौधरीले मलद्धारभित्र लुकाएर राखेको ७ दशमलव ५२ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी साँझ ५ः३० बजे को।३० प।४५०९ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक धरान–१६ निवासी ३० वर्षीय एलिनजङ्ग राणा र पछाडि सवार धरान–११ निवासी ३१ वर्षीय सन्देश लिम्बु पक्राउ परे। सन्देश लिम्बुले मलद्धारभित्र लुकाएर राखेको १२ दशमलव ६५ ग्राम ब्राउन सुगरजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
उता झापामा पनि विभिन्न स्थानमा गरिएको कारबाहीमा पाँच जना पक्राउ परेका छन्। मेचीनगर–६ काँकडभिट्टा बजारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर–१४ दुवागढी निवासी २३ वर्षीय गोपाल मलाहालाई ३ ग्राम २०० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो।
यस्तै भद्रपुर–८ क्याम्पस मोडमा स्कुटर जाँचका क्रममा भद्रपुर–९ निवासी २९ वर्षीय ईराज भट्टराई र सिन्धुली गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय धनबहादुर बस्नेत पक्राउ परेका छन्। बस्नेतको साथबाट १० ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी मेचीनगर–१० पुरानो गोरुहट्टी क्षेत्रमा गस्ती टोलीले स्थानीय २४ वर्षीय शेख अरमानलाई जाँच गर्दा १ ग्राम ११० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थ फेला परेको थियो। सोही क्रममा उनीसँगै रहेका २४ वर्षीय युवराज राजवंशीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सुनसरीबाट बरामद ब्राउन सुगरको परिमाण करिब २० ग्राम रहेको छ भने झापामा खैरो हिरोइन र ब्राउन सुगर गरी करिब १४ ग्रामभन्दा बढी लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध, स्कुटर तथा मोटरसाइकलसहित पक्राउ परेका सबैलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीले सीमावर्ती क्षेत्र तथा संवेदनशील स्थानमा लागूऔषध नियन्त्रण अभियानलाई थप तीव्र बनाएको जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।