विर्तामोड । भारतको पश्चिम बंगालस्थित गलगलिया बजारमा लागेको भीषण आगलागी नेपाली दमकलकर्मी, स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासबाट नियन्त्रणमा आएको छ।
सोमबार राति ९ः३० बजे सीमावर्ती गलगलिया बजारमा अचानक आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदै जाँदा माछा, औषधि, कपडा, खाद्यान्न तथा तरकारीलगायतका दर्जनौं पसल आगोको चपेटामा परेका थिए। प्रत्यक्षदर्शीका अनुसार आगो यति तीव्र गतिमा फैलिएको थियो कि अधिकांश व्यापारीले पसलभित्र रहेका सामानसमेत निकाल्न भ्याएनन्।
आगलागीको जानकारी प्राप्त हुनासाथ स्थानीय जनप्रतिनिधि मुन्ना सिंहले भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललाई घटनाबारे जानकारी गराएका थिए। त्यसलगत्तै नगर प्रमुख पोखरेलले कुनै ढिलाइ नगरी भद्रपुर नगरपालिकाको दमकल घटनास्थलतर्फ पठाएको थियो ।
भद्रपुरबाट पुगेको दमकल टोलीका चालक कमल नेपाल तथा टोलीका सदस्य उदय शेर्पा, सत्य राजवंशी, विकास सिटौला र विक्रम मिश्रले आगो नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनीहरू घटनास्थल पुग्नेबित्तिकै स्थानीय र सुरक्षाकर्मीसँग समन्वय गर्दै आगो नियन्त्रणमा जुटेका थिए।
स्थानीयका अनुसार गलगलिया थानाको फायर ब्रिगेड टोली त्यतिबेला किशनगञ्जमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षामा खटिएको थियो। त्यसपछि पोठियाबाट अर्को दमकल पठाइए पनि उक्त दमकल घटनास्थलमा करिब एक घण्टापछि मात्र पुगेको थियो। भारतीय दमकल आइपुग्दासम्म नेपाली दमकल टोली, स्थानीयवासी, प्रहरी तथा एसएसबीका जवानहरूले आगो धेरै हदसम्म नियन्त्रणमा लिइसकेका थिए।
आगो निभाउन हजारौं स्थानीयसहित नेपाल र भारतका सीमावर्ती क्षेत्रका नागरिकहरू एकसाथ जुटेका थिए। कसैले बाल्टिनमा पानी बोकेर सहयोग गरे भने कसैले पाइप तथा अन्य साधनमार्फत दमकल टोलीलाई साथ दिएका थिए। सामूहिक प्रयासपछि अन्ततः आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीबाट माछा व्यवसायी नूर आलमको पसल र डाक्टर समादरको औषधि पसलमा सबैभन्दा बढी क्षति पुगेको बताइएको छ। त्यसबाहेक कपडा, खाद्यान्न, तरकारीलगायतका दर्जनौं पसलमा क्षति पुगेको छ।
भद्रपुर नगर प्रमुख गणेश पोखरेलले फोनमार्फत सूचना प्राप्त हुनासाथ दमकल पठाइएको बताए। उनले विपद्को समयमा मानवीय सहयोग सबैभन्दा ठूलो दायित्व भएको उल्लेख गर्दै सीमापारका नागरिकलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए।
स्थानीयवासीका अनुसार यदि भद्रपुरबाट दमकल तत्काल नपुगेको भए र नेपाली दमकलकर्मी, एसएसबी, प्रहरी तथा स्थानीयवासी आगो नियन्त्रणमा नजुटेको भए गलगलिया बजारको ठूलो हिस्सा जलेर नष्ट हुने थियो। आगलागी नियन्त्रणका क्रममा दुवै देशका नागरिकले काँधमा काँध मिलाएर गरेको प्रयास अहिले सीमावर्ती क्षेत्रमा प्रशंसाको विषय बनेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।