विराटनगर । कोशी प्रदेशका तराई तथा पहाडी भूभागमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशका केही स्थानमा मौसममा फेरबदल आउने देखिएको हो।
आज दिउँसो कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी प्रदेशको तराईका एक-दुई स्थान र पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।
कोशीबाहेक बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा पनि आज दिउँसो र राति मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने देखिएको छ।
देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने भए तापनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। ती क्षेत्रहरूमा ‘तातो दिन’ हुने सम्भावना रहेकाले गर्मी बढ्ने महाशाखाले उल्लेख गरेको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल लाग्नेछ। मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाले वर्षा, हिमपात र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र पश्चिम तराईमा बढ्दो गर्मीबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न अनुरोध गरेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।