सङ्खुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीभित्र दुई कैदीको हत्या भएको घटनामा संलग्न ठहर भएका सात प्रहरीसहित १५ जनालाई जिल्ला अदालत सङ्खुवासभाले जन्मकैदको सजाय सुनाएको छ।
जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१) बमोजिम दोषी ठहर भएका सबै १५ जनालाई जन्मकैदको फैसला गरेको हो।
घटना २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा भएको थियो। मादी नगरपालिका–५ सङ्खुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटपछि मृत्यु भएको थियो।
अनुसन्धानका क्रममा कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको र त्यसपछि सुरक्षाकर्मी तथा केही कैदीबन्दीले सामूहिक रूपमा कुटपिट गरेको खुलेको थियो। कुटपिटकै कारण दुवै जनाको मृत्यु भएको निष्कर्षसहित मुद्दा अदालत पुगेको थियो।
अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम दोषीहरूबाट मृतक विनोद तोलाङ्गी र आकाश बलामीका नजिकका हकदारलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ।
जन्मकैदको सजाय पाउनेहरूमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राई र चौकीदार राम कार्की रहेका छन्।
त्यस्तै बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीबन्दी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि अदालतले जन्मकैदको सजाय सुनाएको छ।
घटनापछि हत्या अभियोगमा तत्कालीन जिल्ला कारागारका इन्चार्ज असईसहित सात प्रहरी र आठ कैदीबन्दीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। त्यसबेला जिल्ला अदालतका तत्कालीन न्यायाधीश टेकनाथ गौतमको इजलासले आरोपित सात प्रहरीलाई धनकुटा कारागार र आठ कैदीबन्दीलाई तेह्रथुम कारागार पठाउन आदेश दिएको थियो।
करिब दुई वर्ष लामो न्यायिक प्रक्रियापछि अदालतले कारागारभित्र भएको दोहोरो हत्यामा संलग्न सबै १५ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।