विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसहित यस प्रदेशका पहाडी तथा तराईका भूभागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशको मौसममा बदलाव देखिएको हो ।
हाल कोशी प्रदेशको तराई भूभागमा साधारणतया बदली छ भने पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।
आज राति पनि कोशी प्रदेशको मौसममा पूर्ण सुधार हुने छैन । राति कोशीका पहाडी र हिमाली भूभागका साथै तराईका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ ।
कोशी बाहेक बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि आज वर्षाको सम्भावना छ । मधेश प्रदेशका एक–दुई स्थानमा वर्षाको प्रक्षेपण गरिएको भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । ती क्षेत्रमा आज ‘तातो दिन’ हुने सम्भावना रहेकाले गर्मी बढ्ने देखिएको छ ।
कोशी प्रदेशमा हुन सक्ने चट्याङ्ग र वर्षालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।