ताप्लेजुङ । अलैँची खेतीको प्रवर्द्धन, उत्पादन वृद्धि तथा बजार विस्तार गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ।
ताप्लेजुङमा पहिलोपटक आयोजना हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले जानकारी दिए। आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा महोत्सव सञ्चालन हुन लागेको हो।
महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फलको प्रदर्शनी, अलैँचीबाट उत्पादन गरिएका खाद्य परिकारको प्रदर्शन, उत्कृष्ट तथा कमजोर अलैँची बगानको अवलोकनलगायत विविध कार्यक्रम समावेश गरिएका छन्।
यस्तै, अलैँची किसान कार्यशाला, व्यवसायी तथा खरिदकर्ता–बिक्रेताबीच अन्तरक्रिया, आधुनिक अलैँची खेती, रोग व्यवस्थापन र बजार विस्तारका विषयमा विज्ञहरूको छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
ताप्लेजुङको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँची हाल जिल्लाको करिब तीन हजार ७०० हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ। महोत्सवले अलैँची उत्पादन, गुणस्तर सुधार तथा किसानको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।