लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको तराईमा गर्मी बढ्ने, पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

कोशी प्रदेशको तराईमा गर्मी बढ्ने, पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

विराटनगर । नेपालमा हाल पश्चिमी वायुको न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशसहित देशभरको मौसममा विविधता देखिने भएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार, कोशी प्रदेशको तराई भू-भागमा आज ‘तातो दिन’ रहने सम्भावना छ। विराटनगरसहित कोशी प्रदेशका तराईका जिल्लाहरूमा तापक्रम बढ्ने र गर्मी महसुस हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। कोशी प्रदेशको पहाडी भू-भागमा भने मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।

आज देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाको भनाइ छ।

पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। तराई क्षेत्रतर्फ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गर्मीको चेतावनी
मौसम पूर्वानुमान महाशाखाले विशेष गरी मधेश प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई भू-भागमा ‘तातो दिन’ रहने सम्भावना औंल्याएको छ। बढ्दो गर्मी र चर्को घामबाट बच्न सर्वसाधारणलाई सचेत गराइएको छ।

पश्चिमी वायुको प्रभाव र स्थानीय वायु सक्रिय रहेकाले पहाडी भेगमा चट्याङ र वर्षाको जोखिम रहने तथा तराईमा गर्मी बढ्ने भएकाले कृषि, स्वास्थ्य र यात्रामा हुन सक्ने अवरोध वा असुविधाप्रति सतर्क रहन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।