धरान । सुनसरीको धरानकी ४० वर्षीया प्रीति रातेरिया अग्रवाल सगरमाथा आरोहण गर्ने मारवाडी समुदायकी पहिलो महिला बनेकी छन्।
प्रीतिले २०२६ मे २१ (जेठ ७ गते) बिहान ५ः५७ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
द समिट फोर्स प्रालिको व्यवस्थापनमा क्लाइम्बिङ गाइड पासाङ शेर्पा र निमा थिन्थक शेर्पासँगै शिखरमा पुगेकी प्रीतिले बेसक्याम्पदेखि सगरमाथाको चुचुरोसम्म पुग्न १२ घण्टा लागेको बताइन् । शिखरमा करिब आधा घण्टा बिताएकी उनलाई सुरक्षित रूपमा तल झर्न भने झन्डै २४ घण्टा लागेको थियो ।
पछिल्ला तीन वर्षदेखि निरन्तर पर्वतारोहण अभ्यासमा सक्रिय रहेकी प्रीतिले दुई वर्षअघि लोबुचे हिमाल आरोहण गरेकी थिइन्। छोटो समयमै सगरमाथा चढेर उनले मारवाडी समुदायसँगै नेपाली पर्वतारोहण क्षेत्रमा पनि विशेष पहिचान बनाएकी छन्।
यसअघि सन् २०२५ सेप्टेम्बर २३ मा मनास्लु हिमाल आरोहण गर्दै उनी नेपालकी पहिलो मारवाडी महिला आरोही बनेकी थिइन्। मे २०२४ मा लोबुचे पूर्वको सफल आरोहणबाट हिमाल यात्रा सुरु गरेकी उनले अफ्रिकाको माउन्ट किलिमन्जारो र मेरा पिक समेत सफलतापूर्वक आरोहण गरिसकेकी छन्।
धरानमा जन्मिएकी र काठमाडौंमा शिक्षा हासिल गरेकी प्रीतिका लागि सगरमाथा आरोहण बाल्यकालदेखिको सपना थियो। छोरी मानिसले हिमाल चढ्ने सपना पूरा हुन्छ कि हुँदैन भन्ने अन्योल भए पनि परिवार र मारवाडी महिलाहरूको प्रेरणाले आफूलाई सफल बनाएको उनले बताइन्।
सगरमाथाको शिखरमा पुगेर उनले मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको झण्डा फहराएकी थिइन्। साथै आफू प्राणिक तथा अर्हत योगीका रूपमा पनि पहिलो पटक सगरमाथा शिखरमा पुगेको उनको दाबी छ।
हिमालमा छरिएका मृत शरीर देख्दा मन विचलित भए पनि गाइडको सहयोग र साहसका कारण लक्ष्यमा पुग्न सफल भएको उनले बताइन्।पर्वतारोहणका क्रममा सेफ्टी लाइनबाट हात फुत्किन लागेको क्षण जीवनकै सबैभन्दा डर लाग्दो अनुभव भएको स्मरण गर्दै उनले त्यसले संघर्ष र धैर्यताको ठूलो पाठ सिकाएको बताइन्। शिखरमा पुगेपछि भने बाल्यकालको सपना पूरा भएको अनुभूति भएको र विश्व शान्ति तथा मानव कल्याणका लागि ध्यान र प्रार्थना गरेको उनले सुनाइन्।
विद्यालय जीवनदेखि नै एथलेटिक्स र दौडमा सक्रिय रहेकी प्रीतिको हिमालप्रतिको आकर्षण २०१२ मा अन्नपूर्ण बेसक्याम्प र २०१३ मा एभरेस्ट बेसक्याम्प ट्रेकपछि झन् बढेको थियो। पहिलो प्रयासमा मेरा पिक आरोहणमा असफल भए पनि उनले नियमित जिम, रनिङ र स्ट्रेन्थ ट्रेनिङलाई निरन्तरता दिँदै आफूलाई तयार बनाएकी थिइन्।
प्रीतिले अब ८ हजार मिटरभन्दा अग्ला हिमाल तथा सातै महादेशका उच्च शिखरहरू आरोहण गर्ने लक्ष्य लिएकी छन्। हाल हिलारी स्टेपको प्रशिक्षकका रूपमा समेत सक्रिय रहेकी उनले भविष्यमा व्यावसायिक पर्वतारोहण गाइड बनेर नयाँ आरोहीलाई सहयोग गर्ने योजना रहेको बताइन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।