उदयपुर । जनपक्षीय पत्रकारिता, प्रेस स्वतन्त्रता र सत्यको पक्षमा निर्भीक आवाज उठाउने प्रेरणाका स्रोत स्वर्गीय पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको २४औँ स्मृति दिवस उदयपुरमा विविध कार्यक्रमसहित मनाइएको छ।
स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ उदयपुरको सभा भवन गाईघाटमा आयोजित स्मृति सभामा वक्ताहरूले पत्रकारिताको वर्तमान चुनौती, प्रेस स्वतन्त्रताको अवस्था तथा जनउत्तरदायी सञ्चार अभ्यासको आवश्यकतामाथि गम्भीर विमर्श गरेका छन्।
प्रेस सेन्टर उदयपुरको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले स्वर्गीय कृष्णसेन इच्छुकले आफ्नो जीवनकालमा अवलम्बन गरेको निर्भीक, सत्यनिष्ठ र जनपक्षीय पत्रकारिताको बाटोलाई आजको सन्दर्भमा थप सशक्त ढंगले आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पत्रकारिता केवल पेशा नभई समाज परिवर्तन, जनचेतना अभिवृद्धि र अन्यायविरुद्ध आवाज उठाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।
कार्यक्रमका प्रमुख वक्ता तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कौशल चेम्जुङले स्वर्गीय कृष्णसेन इच्छुक नेपाली पत्रकारिताको इतिहासमा साहस, प्रतिबद्धता र वैचारिक निष्ठाको प्रतीक व्यक्तित्व भएको बताए । उनले पत्रकारिता क्षेत्र दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको वर्तमान अवस्थामा इच्छुकले देखाएको बाटो अझ सान्दर्भिक बनेको उल्लेख गर्दै सञ्चारकर्मीहरूलाई सत्य, न्याय र जनताको पक्षमा उभिन आग्रह गरे ।
स्मृति सभा प्रेस सेन्टर उदयपुरका सभापति अभिमन्यू लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सचिवालय सदस्य गजेन्द्र राई, प्रेस सेन्टरका केन्द्रीय सदस्य विदुर कटुवाल, पत्रकार महासंघ उदयपुरका सल्लहारका सदस्य भोटराज राई लगायतले स्वर्गीय कृष्णसेन इच्छुक केवल पत्रकार मात्र नभई सामाजिक चेतना जगाउने साहित्यिक व्यक्तित्वसमेत रहेको उल्लेख गरेका थिए । वक्ताहरुले इच्छुकको माक्सवादी दृष्टीकोणबाट अहिले पनि अघि बढ्नु पर्ने आवश्यकता रहेको दाबी गरेका थिए ।
त्यसैगरी अभिमन्यु लामिछानेले पत्रकारिता क्षेत्रमा कृष्णसेन इच्छुकले पुर्याएको योगदानको चर्चा गर्दै निर्भिक पत्रकारिताको अभ्यास आज पनि उत्तिकै आवश्यक रहेको बताए ।
वक्ताहरूले पत्रकारिता क्षेत्रले लोकतन्त्रको सुदृढीकरण, जनअधिकारको संरक्षण र सामाजिक न्यायको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रताको रक्षा सबैको साझा जिम्मेवारी भएको बताएका थिए। उनीहरूले स्वर्गीय कृष्णसेन इच्छुकले देखाएको विचार, साहस र पत्रकारिताको मूल्य–मान्यतालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा जिल्लाका क्रियाशील सञ्चारकर्मी, पत्रकार, प्रेससम्बद्ध व्यक्तित्व तथा विभिन्न सामाजिक तथा पेशागत संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कृष्णसेन इच्छुकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको योगदान नेपाली पत्रकारिता आन्दोलनका लागि प्रेरणादायी रहेको बताएका थिए।
वि.सं. २०५९ साल जेठ १३ गते राज्य पक्षद्वारा पक्राउ परेपछि हत्या गरिएका पत्रकार कृष्णसेन इच्छुकलाई नेपाली पत्रकारिता इतिहासमा निर्भीक, जनपक्षीय तथा वैचारिक पत्रकारिताको प्रतीकका रूपमा स्मरण गरिन्छ। उनको स्मृति दिवस प्रत्येक वर्ष देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।