लोड हुँदैछ...

मेनु

मोरङ–सुनसरीमा विद्युतको ‘हाई टेन्सन’ लाइनमा क्षति

मोरङ–सुनसरीमा विद्युतको ‘हाई टेन्सन’ लाइनमा क्षति

विराटनगर । गएराति आएको वर्षा र हावाहुरीले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा विद्युत पूर्वाधारमा क्षति पुर्याएको छ । विशेषगरी मोरङको बेलबारी र सुनसरीको दुहबी क्षेत्रमा विद्युतका पोलहरू ढल्दा र तारहरू चुँडिँदा विद्युत सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख कमल आचार्यका अनुसार मोरङको बेलबारी क्षेत्रमा मात्रै २२ वटा एचटी (हाई टेन्सन) र ४ वटा एलटी (लो टेन्सन) गरी कुल २६ वटा पोलमा क्षति पुगेको छ । बेलबारीमा ११ केभी लाइनका पोलहरूमा बढी क्षति पुगेको उनले जानकारी दिए ।

प्राधिकरणका प्रमुख आचार्यले भने , “बेलबारीमा मात्रै २२ वटा ११ केभीका एचटी पोल र ४ वटा ४०० भोल्टका एलटी पोल ब्रेक भएका छन् । अहिले हाम्रो टोली मर्मतका लागि कार्यक्षेत्रमा खटिसकेको छ ।”

त्यसैगरी, सुनसरीको दुहबी क्षेत्रमा पनि विद्युत आपूर्तिमा ठूलो समस्या देखिएको छ । दुहबीमा ३३ केभीको उच्च भोल्टेज प्रसारण लाइनमै क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएपछि उपभोक्ताहरूलाई सास्ती भएको छ ।

प्राधिकरणका अनुसार अवरुद्ध विद्युत सेवालाई आज साँझसम्ममा अस्थायी रूपमा सुचारु गर्ने तयारी भइरहेको छ । यद्यपि, संरचनाहरूमा पुगेको क्षतिका कारण पूर्ण र स्थायी रूपमा विद्युत सुचारु हुन भने केही दिन लाग्ने देखिएको छ ।

“लाइन सुचारु मात्र गराउन धेरै समय नलागे पनि भाँचिएका पोलहरू फेरेर पुरानै अवस्थामा ल्याउन भने दुई–चार दिनको समय लाग्छ,” प्रमुख आचार्यले भने, “गर्मीका कारण बेलुकाको समयमा ‘पिक लोड’ बढी हुने भएकाले वैकल्पिक व्यवस्था गर्दा पनि केही ठाउँमा लोड नपुग्ने समस्या हुन सक्छ ।”

अहिले प्रदेशका अन्य क्षेत्रबाट पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र प्राविधिक टोलीले अवरुद्ध लाइन खुलाउन युद्धस्तरमा काम गरिरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।