लोड हुँदैछ...

मेनु

संखुवासभाको किमाथांका सडक सञ्जालमा जोडियो

संखुवासभाको किमाथांका सडक सञ्जालमा जोडियो

संखुवासभा । जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्र अन्तर्गत चीन सीमानजिकको किमाथांकासम्म सडक सञ्जाल जोडिएको छ ।

उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत मोरङको जोगवनीदेखि संखुवासभाको किमाथांकासम्म ३ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएसँगै दशकौँदेखि सडक पहुँचबाट टाढा रहेको हिमाली बस्ती अब राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएको हो ।

उत्तर–दक्षिण कोशी सडक योजनाका अनुसार खाँदबारी–किमाथांका १ सय ५७ किलोमिटर तथा खाँदबारी–जोगवनी २ सय किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ । हाल खाँदबारीसम्म कालोपत्र सडक सञ्चालनमा रहेको छ भने खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडक कालोपत्रको काम तीव्र गतिमा भइरहेको जनाइएको छ ।

नुमभन्दा माथिल्लो क्षेत्रमा कच्ची सडक निर्माण सम्पन्न भइसकेको योजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए । सडक निर्माणको सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको भोटखोला गाउँपालिका क्षेत्रमा नेपाली सेनाले च्याम्ताङदेखि घोंगप्पासम्म सडक निर्माण गरेको थियो । २८ वैशाखमा सेनाले उक्त सडक योजनालाई हस्तान्तरण गरेपछि किमाथांकासम्म सडक सञ्जाल विस्तारको काम पूरा भएको हो ।

प्रारम्भिक रूपमा १४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएपनि भूगोल र एलाइनमेन्ट परिवर्तनका कारण अन्तिम सर्वेक्षणमा सडकको लम्बाइ १० दशमलव ८१ किलोमिटर कायम भएको जनाइएको छ । सडक हस्तान्तरण भएको तीन दिनपछि १ जेठमा खाद्यान्न बोकेका तीन वटा ट्याक्टर पहिलो पटक किमाथांकासम्म पुगेका थिए । सदरमुकाम खाँदबारीबाट हिँडेको सवारी पहिलो पटक गाउँसम्म पुगेपछि स्थानीय उत्साहित बनेका छन् ।

ट्याक्टर चालक, एक्स्काभेटर चालक तथा सडक निर्माणमा संलग्न टोलीलाई स्थानीयले भव्य स्वागत गरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाड्छेदर भोटेले बताए । उनका अनुसार सडक सञ्चालनसँगै स्थानीय उत्पादनले बजार पाउने, दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुने तथा स्वास्थ्य र शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । आपत्कालीन सेवामा समेत सहजता आउने स्थानीयको विश्वास छ ।

सडक सञ्जाल जोडिएपनि वरुण नदीभन्दा माथिल्लो क्षेत्र अझै जोखिमपूर्ण र अप्ठ्यारो रहेको छ । वर्षायाममा पहिरो, भीर तथा कठिन भूगोलका कारण सडक सञ्चालन चुनौतीपूर्ण बन्नेछ । स्तरोन्नतिको काम भने जारी रहेको योजना प्रमुख गुरुङले बताए ।

चीन सीमासँग जोडिएको किमाथांकासम्म सडक पुगेपछि पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा सीमावर्ती क्षेत्रको विकासमा नयाँ सम्भावना खुलेको गाउँपालिका अध्यक्ष भोटेले बताए । यो सडकलाई कोशी प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको उत्तर–दक्षिण रणनीतिक मार्गका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।