विराटनगर । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागुऔषधको दुर्व्यसनले व्यक्तिलाई मात्र नभई परिवार, समाज र राष्ट्रको अर्थतन्त्रलाई नै ध्वस्त पारिरहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आइतबार विराटनगरमा आयोजित ‘लागुऔषधविरुद्धको महाअभियान–२०८३’ लाई सम्बोधन गर्दै उनले यसको नियन्त्रणका लागि अब प्रहरीको कारबाही मात्र पर्याप्त नहुने भन्दै ‘सामूहिक युद्ध’ को घोषणा गर्नुपर्ने बेला आएको उल्लेख गरे ।
“लागुऔषधले हाम्रा युवाहरूलाई शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा सिध्याइरहेको छ,” महानिरीक्षक कार्कीले भने, “यो निकै महँगो सोख हो, जसले परिश्रमी र कर्मशील युवाहरूलाई सडकमा पुऱ्याउँछ । यसलाई रोक्न अब गाउँ–गाउँ र विद्यालय–विद्यालयबाट सचेतनाको लहर उठ्नुपर्छ ।”
सम्बोधनका क्रममा महानिरीक्षक कार्कीले विद्यार्थी र युवाहरूलाई लागुऔषधबाट टाढा राख्न ‘४–आर’ को सूत्र अघि सारे । उनले रिफ्युज, रिपोर्ट , रिएसयोर र राइट ट्र्याक लाई अभियानको मुख्य कडी बनाउनुपर्नेमा जोड दिए ।
“कसैले लागुऔषध अफर गरेमा सिधै अस्वीकार गर्नुहोस्, त्यसबारे प्रहरी वा अभिभावकलाई जानकारी दिनुहोस्, आफू कहिल्यै दुर्व्यसनमा नफस्ने प्रतिबद्धता जनाउनुहोस् र सधैं सही बाटोमा हिँड्नुहोस्,” उनले युवाहरूलाई मार्गदर्शन गरे ।
विराटनगरका सीमावर्ती नाकाहरूबाट हुने लागुऔषधको ओसारपसार र बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्दै कार्कीले यो महाअभियानले विराटनगरमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे । “विराटनगर अब तनाबका लागि होइन, ऊर्जाका लागि जाग्नुपर्छ ,” उनले भने, “हामीले धनकुटा, भोजपुर र दक्षिणतर्फबाट आउने गाँजा, चरेस, ट्याब्लेट र सुइहरूलाई रोक्न कडा कदम चाल्नुपर्छ ।”
वृहत प्रभातफेरी
यसअघि आइतबार बिहान विराटनगरको महेन्द्रचोकबाट निकालिएको वृहत प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । ‘लागुऔषधलाई नो, जीवनलाई गो’ जस्ता सचेतनामूलक नाराहरू लेखिएका प्लेकार्डसहित निकालिएको र्याली सहिद रंगशालामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, विद्यालय तथा कलेजका विद्यार्थी, उद्योगी, व्यवसायी र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो । महानिरीक्षक कार्कीले लागुऔषधको उत्पादन, भण्डारण, ओसारपसार र प्रयोग गर्ने जोसुकै विरुद्ध शून्य सहनशीलता अपनाउन र प्रहरीलाई सूचना दिएर सहयोग गर्न नागरिकलाई अपिलसमेत गरे । उनले यो अभियान केवल एक दिनको औपचारिकता नभई आगामी पुस्तालाई जोगाउने महायज्ञ भएको टिप्पणी गरे ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।