विराटनगर– बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण र युवा पुस्तामा सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालय मोरङले टिकटकलाई अभियानको माध्यम बनाउने भएको छ ।
‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ अन्तर्गत प्रहरीले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले आइतबार अभियानको उद्घाटन गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै युवाहरूलाई रचनात्मक ढङ्गले लागुऔषध विरुद्धको अभियानमा जोड्न प्रतियोगिता आयोजना गरिएको बताए । ‘वर्तमान समयमा युवा पुस्तामा सामाजिक सञ्जाल, विशेष गरी टिकटकको आकर्षण निकै छ,’ एसपी कटवालले भने, ‘त्यसैले उनीहरूलाई नै समेटेर लागुऔषध विरुद्धको सन्देश फैलाउन यो प्लेटफर्म प्रभावकारी हुने हाम्रो विश्वास छ ।’
प्रतियोगितामा सहभागी हुन चाहनेले ‘बढ्दो लागुऔषध विरुद्ध एकजुट हौँ’ भन्ने मूल सन्देशमा आधारित रहेर जनचेतनामूलक भिडियो तयार गर्नुपर्नेछ । जेठ १० गतेदेखि सुरु भएको यो प्रतियोगितामा इच्छुक सहभागीले जेठ मसान्तसम्म भिडियो बनाएर प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट हुने पाँच जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रहरीका अनुसार प्रथम पुरस्कार ५० हजार रुपैयाँ रहेको छ । दोस्रो पुरस्कार ४० हजार रुपैयाँ र तेस्रो पुरस्कार ३० हजार रुपैयाँ रहेको छ । चौथो पुरस्कार २० हजार रुपैयाँ र पाँचौँ पुरस्कार १० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिता सबैका लागि खुला गरिएको छ । सहभागी हुन इच्छुक व्यक्तिहरूले आफूले तयार पारेको भिडियो जिल्ला प्रहरी कार्यालय मोरङको आधिकारिक सम्पर्क माध्यम वा प्रहरीले तोकेको डिजिटल प्लेटफर्ममा पठाउनुपर्नेछ ।
प्रहरीले यसअघि परम्परागत शैलीमा सचेतना कार्यक्रम गर्दै आए पनि यसपटक प्रविधिको प्रयोगमार्फत धेरैभन्दा धेरै युवामाझ पुग्ने लक्ष्य राखेको छ । यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवाहरूलाई कुलतबाट जोगाउन मद्दत पुग्ने अपेक्षा प्रहरीको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।