ताप्लेजुङ । अविरल वर्षापछि आएको बाढीले ताप्लेजुङ र पाँचथर क्षेत्रका चार वटा जलविद्युत् आयोजनामा क्षति पुर्याउँदा ५५ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
काबेली र इन्द्रावती खोलामा आएको बाढीले बाँध, इन्टेक, पाइपलाइन तथा अन्य संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन ठप्प भएको हो ।
शुक्रबार रातिदेखिको वर्षासँगै आएको बाढीले पाँचथरस्थित अमरपुर सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएका आयोजनामा असर पुगेको अमरपुर सव–स्टेशनले जनाएको छ । बाढीका कारण अरुण काबेली पावर लिमिटेडअन्तर्गत काबेली खोलाबाट उत्पादन हुँदै आएको २५ मेगावाट क्षमताको आयोजना तथा १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजना बन्द भएका छन् ।
कम्पनीका कर्मचारी लेखराज न्यौपानेका अनुसार बाढीले आयोजनाको इन्टेकलगायतका संरचनामा क्षति पुर्याएको छ । काबेली बी–१ को बाँध क्षेत्रमा ढुंगामाटो, लेदो र काठ थुप्रिएपछि उत्पादन प्रणाली अवरुद्ध भएको उनले बताए ।
त्यसैगरी रिडी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत् आयोजना तथा इँवा हाइड्रोपावरले इन्द्रावतीखोलाबाट उत्पादन गर्दै आएको ९।७ मेगावाट क्षमताको आयोजना पनि बन्द भएका छन् । इँवा हाइड्रोपावरका कर्मचारी मौसम सेलिङका अनुसार बाढीले बाँधस्थल, इन्टेक, पाइपलाइन तथा विद्युत्गृह क्षेत्रमा क्षति पुर्याएको छ । क्षतिको विस्तृत विवरण संकलन तथा मर्मत कार्य सुरु गरिएको उनले जानकारी दिए ।
याङवरक–२ मेवाखोलामा रहेको मेवाखोला जलविद्युत् आयोजनामा समेत बाढीले असर पुर्याएको जनाइएको छ । बाढीले स्थानीय बस्ती र कृषि क्षेत्रमा पनि क्षति पुर्याएको छ । याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर नोक्सानी भएको प्रहरीले जनाएको छ ।
बाढीपहिरोका कारण टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुगेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।