काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ । यसका कारण शनिबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत प्रक्षेपण गरिएको छ।
मधेश प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
एकातिर पहाडी क्षेत्रमा वर्षा र बदलीको अवस्था छ भने अर्कोतिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हावा ९लु० चल्ने सम्भावना रहेको छ । ती क्षेत्रमा अधिकतम तापक्रम बढ्ने भएकाले गर्मीबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
यस्तै, मधेश र कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
काठमाडौँको आकाशमा पनि आज दिउँसो बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मौसममा आएको यो फेरबदलका कारण कृषि, उडान र दैनिक जनजीवनमा पर्न सक्ने असरप्रति सचेत रहन महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।