लोड हुँदैछ...

मेनु

कर्मचारी व्यवस्थापनसँगै टिप्ताला नाका पुनः सञ्चालनमा

कर्मचारी व्यवस्थापनसँगै टिप्ताला नाका पुनः सञ्चालनमा

ताप्लेजुङ : टिप्ताला नाका मा कर्मचारी व्यवस्थापन गरिएसँगै पुनः नियमित सञ्चालनमा आएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामा का अनुसार यसअघि ओलाङचुङ्गोला स्थित भन्सार कार्यालय स्थानीय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको थियो ।

कोभिड–१९ महामारी फैलिन थालेपछि भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएको थियो । अहिले भने कर्मचारी व्यवस्थापन गरिएपछि नाका पुनः सञ्चालनमा आएको वडाध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार बिहीबार नायब सुब्बा प्रदीप धिताललाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएपछि नाका नियमित सञ्चालनमा आएको हो ।

‘नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । ओलाङचुङ्गोलाबाट करिब २४ किलोमिटर दूरी पार गरेपछि नेपाल–चीन सीमा क्षेत्र टिप्ताला नाका पुग्न सकिन्छ,’ लामाले बताए ।

स्थानीय जनप्रतिनिधिका अनुसार करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालय भवन अहिले जीर्ण अवस्थामा पुगेको छ । वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थ मन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिए ।

भन्सार कार्यालयमा कर्मचारी पठाउन जिल्लाका विभिन्न अभियन्ताले पटक–पटक भन्सार विभागको ध्यानाकर्षण गराउँदै आएका थिए ।

ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षासहित स्थानीयवासी उत्साहित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।