वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद बारामा सडकमा छताछुल्ल भएको छ । शनिबार कलैयामा आयोजित पार्टीको विस्तारित बैठकमा आफ्नै कार्यकर्ताहरूले निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन र दुर्व्यवहार गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।
जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारमाथि गरिएको कारबाहीलाई लिएर आक्रोशित बनेका पुराना कार्यकर्ताहरूले बैठक स्थलमै सांसदहरूलाई घेराउ गर्दै लखेटेका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि र सांसदहरूको सुरक्षामा खतरा देखिएपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई सुरक्षित स्थानमा पुर्याउनु परेको थियो । प्रहरीले चारै जना सांसदहरूलाई बैठक स्थलबाट निकालेर स्थानीय एक होटलमा सुरक्षित राखेको छ ।
विवादको मुख्य जड स्वर्णकारमाथिको कारबाही हो । बाराबाट निर्वाचित चारै जना सांसदले चुनावका बेला स्वर्णकारले आफूहरूलाई नसघाएको आरोप लगाउँदै गत वैशाख ३० गते कारबाहीका लागि केन्द्रमा सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा स्वर्णकारको सदस्यता खारेज भएपछि पार्टीका संस्थापक र पुराना कार्यकर्ताहरू सांसदहरूप्रति रुष्ट बनेका हुन् ।
बैठकमा सहभागी एक स्थानीय नेताका अनुसार, अन्य पार्टीबाट आएर सांसद बनेकाहरूले पार्टीका पुराना र जग बसाल्ने कार्यकर्तालाई पाखा लगाएको भन्दै कार्यकर्ताहरू आक्रोशित भएका हुन् । “विभिन्न पार्टीबाट आएर माननीय भएकाहरूले पुराना र युवा कार्यकर्ताहरूलाई उपेक्षा गरे, उल्टै कारबाहीको डन्डा चलाए,” ती नेताले भने ।
यता कारबाहीमा परेका स्वर्णकारले आफूमाथि अन्याय भएको र यो आफ्नो ‘राजनीतिक हत्या’ भएको बताएका छन् । आफ्नै सांसदहरूबाट असुरक्षित भएर प्रहरीको शरण लिनुपर्ने अवस्था आएपछि रास्वपाको आन्तरिक संगठनभित्र ठुलो दरार उत्पन्न भएको देखिएको छ । यस घटनाबारे केन्द्रबाट भने हालसम्म कुनै ठोस प्रतिक्रिया आएको छैन ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।