लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण कोशी प्रदेशमा वर्षाको सम्भावना देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा साधारणतया बादल लागिरहेको छ । आज दिउँसो कोशीका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ । विशेषगरी आज राति कोशी प्रदेशका केही स्थानमा वर्षा हुनुका साथै प्रदेशका पहाडी र तराई दुवै भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी बाहेक अन्य प्रदेशहरूको अवस्था हेर्दा आज दिउँसो बागमती र गण्डकी प्रदेशमा पनि साधारणतया बादल लाग्नेछ भने केही स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मधेस प्रदेशका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

वर्षाको सम्भावना भए तापनि पश्चिम तराईमा भने गर्मीको प्रकोप जारी रहने देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आज तातो लहर (लु) चल्ने सम्भावना छ । रातिको समयमा मधेस, बागमती र गण्डकीका थोरै स्थान तथा कर्णालीको हिमाली भूभागमा पनि वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।