उदयपुर । नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योग लिमिटेड गम्भीर आर्थिक संकटमा फँसिएपछि कर्मचारी तथा मजदुर आन्दोलनमा उत्रिएका छन् ।
मजदुर तथा कर्मचारीले १४ महिनादेखि तलब–ज्याला नपाएको, सञ्चय कोष र नागरिक लगानी कोषको रकम सम्बन्धित निकायमा जम्मा नगरिएको तथा अवकाशप्राप्त कर्मचारीले सेवा–सुविधा नपाएको भन्दै आन्दोलन थालेका हुन् ।
शुक्रबार उद्योग परिसरको मूल गेटमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्पूर्ण मजदुर संघर्ष समितिले उद्योग व्यवस्थापनको कमजोरी र आर्थिक अव्यवस्थाका कारण श्रमिकहरूको जीवन नै संकटमा परेको जनाएको छ । समितिका अनुसार उद्योगले तलबबाट कट्टा गरिएको ४५ महिनाको सञ्चय कोष रकम र ३५ महिनाको नागरिक लगानी कोष रकम सम्बन्धित निकायमा जम्मा गरेको छैन । तीन किस्तासम्मको बीमा प्रिमियमसमेत भुक्तानी नगरिएको मजदुरहरूको आरोप छ ।
मजदुरहरूले लामो समयदेखि पारिश्रमिक नपाउँदा दैनिक जीवन सञ्चालन, छोराछोरीको पढाइ, स्वास्थ्य उपचार तथा ऋणको किस्ता तिर्न समेत समस्या भएको बताएका छन् । आर्थिक अभावका कारण उपचार नपाएर हालसम्म ८ जना कर्मचारी तथा मजदुरको मृत्यु भइसकेको संघर्ष समितिको दाबी छ ।
२०७८ सालयता अनिवार्य अवकाश प्राप्त गरेका १३२ जना कर्मचारी तथा मजदुरले पाउनुपर्ने सेवा–सुविधा समेत अझै नपाएको जनाइएको छ । उद्योगमा कार्यरत सुरक्षा गार्ड तथा दैनिक ज्यालादारी मजदुरको पारिश्रमिकसमेत बाँकी रहेको मजदुरहरूको भनाइ छ ।
२०४९ साल माघदेखि ‘गैंडा छाप’ सिमेन्ट उत्पादन गर्दै आएको उद्योग पछिल्ला तीन वर्षयता पटक–पटक बन्द हुने तथा न्यून क्षमतामा मात्र सञ्चालन हुने अवस्थामा पुगेको छ । मजदुरहरूले उद्योग व्यवस्थापन, उद्योग मन्त्रालय तथा सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ कुनै प्रभावकारी पहल नभएको गुनासो गरेका छन् ।
संघर्ष समितिले १४ महिनाको तलब–ज्याला, सञ्चय कोष र नागरिक लगानी कोषको रोकिएको रकम, बीमा प्रिमियम तथा अवकाशप्राप्त कर्मचारीका सेवा–सुविधा तत्काल भुक्तानी गर्न माग गरेको छ । माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत मजदुरहरूले दिएका छन् ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।