विराटनगर । झापामा दुई दिनको अवधिमा दुई जना महिलाको हत्या भएको छ । फरक–फरक स्थानमा हत्याको घटना भएको हो ।
प्रहरीका अनुसार एक घटनामा पतिले आफ्नै पत्नीको हत्या गरेका छन् भने अर्को घटनामा एक युवकको संलग्नता रहेको पाइएको छ । दुवै घटनामा संलग्न आरोपित पक्राउ परेका छन् ।
झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ कञ्चनश्रीमा मंगलबार राति करिब ११ बजे ४४ वर्षीय गोकर्ण भण्डारीले आफ्नी ३३ वर्षीया पत्नी उर्मिला भण्डारीमाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । असई छविहाङ शेर्माको नेतृत्वमा पुगेको टोलीले गोकर्णलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक उर्मिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
त्यसअघि सोमबार राति अर्जुनधारा नगरपालिका–८ कुशलचोकमा अर्की महिला २९ वर्षीया काजल बस्नेत सुवेदीको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा–५ कञ्चनबाडीका २४ वर्षीय किरण गौतम पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सोमबार राति काजल र किरण एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुल नजिकको खुला चउरमा मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद हुँदा किरणले काजललाई धकेलेका थिए । धकेलिँदा काजल कंक्रिटको प्लममा ठोक्किएर गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि विभिन्न अस्पतालमा लगिए पनि मंगलबार बिहान प्रादेशिक मेची अस्पताल भद्रपुरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका छन् ।
दुवै घटनामा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।