लोड हुँदैछ...

मेनु

गुणस्तरहीन पिउने पानी उत्पादन गर्ने उद्योग सिल

गुणस्तरहीन पिउने पानी उत्पादन गर्ने उद्योग सिल

उदयपुर । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम पर्ने गरी गुणस्तरहीन प्रशोधित पिउने पानी उत्पादन गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका–३ लच्कास्थित नेपाल स्प्रिङ्ग पानी उद्योग सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय उदयपुरको संयुक्त अनुगमन टोलीले उद्योग सिल गरेको हो ।

अनुगमनका क्रममा उद्योगले प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका–२०७४ तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ को उल्लंघन गर्दै सञ्चालन भइरहेको फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय उदयपुरका प्रमुख निराजन मगरले जानकारी दिए ।उनका अनुसार उद्योगमा उत्पादन प्रक्रिया मापदण्डअनुसार नभएको, आवश्यक सरसफाइ कायम नगरिएको तथा उत्पादित पानी उपभोक्ताको स्वास्थ्यका लागि जोखिमपूर्ण देखिएपछि तत्काल उत्पादन र बिक्री वितरण रोक लगाइएको हो ।

‘तोकिएको मापदण्ड पूरा नगरेसम्म उद्योग सञ्चालन गर्न दिइने छैन,’ प्रमुख मगरले भने । अनुगमन टोलीका अनुसार उक्त उद्योगलाई यसअघि पनि पटक–पटक सचेत गराउनुका साथै जरिवाना गरिएको थियो । तर, उद्योग सञ्चालकले सुधार नगरेपछि अन्ततः सिल गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयले बताए ।

प्रशासनले अब खाद्य तथा पेय पदार्थ उद्योगमाथि थप कडाइका साथ नियमित अनुगमन गरिने जनाएको छ । गुणस्तरहीन उत्पादन गर्ने उद्योगलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ ।

स्थानीय उपभोक्ताले पनि बजारमा बिक्री हुने प्रशोधित पिउने पानीको नियमित गुणस्तर परीक्षण र निगरानी बढाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।