लोड हुँदैछ...

मेनु

बालकलाई निर्घात कुटपिट गरेको आरोपमा शिक्षिका पक्राउ

बालकलाई निर्घात कुटपिट गरेको आरोपमा शिक्षिका पक्राउ

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१४ स्थित लुङरुपा बोर्डिङ एकेडेमीकी एक शिक्षिका पाँच वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा विद्यालयकी शिक्षिका सुमित्रा सेन्दाङ नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार उनीमाथि बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ । डीएसपी अनिषकुमार कर्णका अनुसार शिक्षिका नेम्वाङले गत बुधबार एलकेजीमा अध्ययनरत बालकलाई ‘क, ख’ र ‘वान, टु’ लेख्न नजानेको भन्दै निर्घात कुटपिट गरेकी थिइन् ।

कुटपिटपछि बालक बिरामी परेपछि अभिभावकले कपडा फुकालेर हेर्दा ढाडभरि १८ वटा निलडाम भेटिएको थियो । त्यसपछि बालकलाई उपचारका लागि गणेशमानसिंह सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटना सार्वजनिक भएपछि शिक्षिकालाई पक्राउ गर्न दबाब बढेको थियो । पक्राउ परेकी नेम्वाङलाई आइतबार पाँचथर जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी भइरहेको डीएसपी कर्णले जानकारी दिए । विद्यालय प्रशासनले भने घटनापछि सम्बन्धित शिक्षिकालाई निलम्बन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।