दमक । झापाको दमकस्थित ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का आफ्नै घरमा मृत फेला परेका छन्। प्रहरीले प्रारम्भिक रूपमा उनले आत्महत्या गरेको अनुमान गरेको छ।
दमकको लक्ष्मीमार्ग टोलस्थित घरको भुइँतलामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा खड्कालाई फेला पारिएको प्रहरीले जनाएको छ।
मृतकका बुवा महेश खड्काले छोरालाई उक्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत्युअघि खड्काले सामाजिक सञ्जाल फेसबुकमा बैंकका उच्च पदाधिकारीसहित चार जनाको सामूहिक तस्बिर पोस्ट गर्दै आफू उनीहरूकै कारण यस्तो निर्णय लिन बाध्य भएको आशय व्यक्त गरेका थिए। उक्त पोस्ट सार्वजनिक भएको केही समयपछि उनी मृत अवस्थामा फेला परेका हुन्।
घटनापछि प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पठाएको छ। रम्भिक अनुसन्धानका क्रममा खड्का यसअघि बैंकको आन्तरिक कारबाहीमा परेको खुलेको प्रहरीले जनाएको छ।
घटनाको निष्पक्ष अनुसन्धानका लागि मृतकको मोबाइल नियन्त्रणमा लिएर प्राविधिक विश्लेषण भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी किशोर लम्सालले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।