भोजपुर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको बैठक भोजपुरमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण, विधान संशोधनका लागि सुझाव समिति गठन, सदस्यता विस्तार तथा पत्रकारिता क्षेत्रको व्यावसायिक विकाससँग सम्बन्धित सात महत्वपूर्ण निर्णय गरेको हो ।
बैठकले आगामी जेठ १३ गते काठमाडौंमा हुने युनियनको विधानसभामा पेश गरिने संशोधन प्रस्तावका लागि सुझाव संकलन गर्न समिति गठन गरेको छ । प्रदेश महासचिव सञ्जीव वाग्लेको संयोजकत्वमा गठित समितिलाई प्रदेशभरका शाखाबाट सुझाव संकलन गरी केन्द्रीय समितिमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
प्रदेश अध्यक्ष नवोदितका अनुसार बैठकले कोशी प्रदेशका १४ वटै जिल्लामा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । सक्रिय पत्रकारलाई संगठनमा आबद्ध गराउँदै प्रेस स्वतन्त्रता, श्रम अधिकार र पेशागत सुरक्षाका सवालमा साझा आवाज बलियो बनाउने रणनीतिअनुसार अभियान सञ्चालन गरिने उनले बताए ।
नेपाल प्रेस युनियन भोजपुर शाखाको आतिथ्यतामा सम्पन्न बैठकले युनियनको स्थापना दिवसलाई प्रदेशभर भव्य रूपमा मनाउन सबै जिल्ला शाखालाई आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै, झापामा सल्लाहकार समिति र परामर्श समितिसहितको विस्तारित भेला आयोजना गर्ने, शाखाहरूबीच समन्वय बढाउने तथा संगठनात्मक गतिविधिलाई जिल्लास्तरमा थप सक्रिय बनाउने विषयमा समेत छलफल भएको थियो ।
बैठकमा सहभागी पदाधिकारीहरूले पत्रकारितामाथि बढ्दो चुनौती, डिजिटल मिडियाको प्रभाव, श्रमजीवी पत्रकारको अवस्था तथा व्यावसायिक पत्रकारिताको विश्वसनीयता जोगाउने विषयमा धारणा राखेका थिए । सञ्चारमाध्यमको बदलिँदो संरचनासँगै पत्रकार संगठनहरूलाई पनि समयानुकूल रूपान्तरण आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको जनाइएको छ ।
त्यसैगरी, भोजपुरको पर्यटन प्रवद्र्धन र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सञ्चार क्षेत्रले प्रभावकारी भूमिका खेल्नुपर्नेमा बैठकले जोड दिएको छ । स्थानीय तह, पर्यटन व्यवसायी र सञ्चारकर्मीबीच सहकार्य विस्तार गरी भोजपुरलाई पूर्वी नेपालको सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने धारणा सहभागीहरूले राखेका थिए ।
प्रेस युनियन कोशी प्रदेशले प्रदेशका विभिन्न जिल्लामा पुगेर नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि विराटनगर, धनकुटा बजार, भेडेटार, उदयपुरको गाईघाट र बेलका लगायतका स्थानमा बैठक सम्पन्न भइसकेको छ । प्रदेश नेतृत्वले जिल्लामै पुगेर संगठनात्मक गतिविधि सञ्चालन गर्दा स्थानीय पत्रकारसँग प्रत्यक्ष संवाद, समस्या पहिचान र समन्वयमा सहजता पुगेको महासचिव वाग्लेले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।