विराटनगर । आफूलाई क्षेत्रकै ‘नम्बर वान’ र गुणस्तरको पर्यायवाची दाबी गर्ने विराटनगरका ठूला निजी स्कुलहरूको शैक्षिक ओज यस वर्षको एसईई नतिजाले फिक्का बनाइदिएको छ । जिल्लाभरबाट सबैभन्दा बढी ‘४ जीपीए’ ल्याएको दम्भ भिरेको विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) ले आफ्ना सबै विद्यार्थीलाई उत्तीर्ण गराउन नसकेपछि उसको ‘शतप्रतिशत’ को विरासत ढलेको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ मोरङको तथ्याङ्कअनुसार यस वर्ष मोरङबाट परीक्षामा सहभागी १७ हजार २४६ विद्यार्थीमध्ये ३ हजार २४१ जना अनुत्तीर्ण (एनजी) भएका छन् । तीमध्ये विराटनगरका महँगा र ‘ब्रान्डेड’ भनिएका स्कुलका विद्यार्थीसमेत असफल भएपछि निजी विद्यालयको आन्तरिक शिक्षण पद्धतिमाथि प्रश्न उठेको छ ।
बिकेभिएमको ‘अब्बल’ दाबीमा धक्का
विराटनगरको शैक्षिक बजारमा ठूलो प्रभाव रहेको बिकेभिएमबाट यस वर्ष २९२ विद्यार्थीले परीक्षा दिएका थिए । तर, सबैलाई उत्तीर्ण गराउने दाबी गरेको यो विद्यालयका २ जना विद्यार्थी फेल भएका छन् । जिल्लामै सबैभन्दा धेरै विद्यार्थीले ४ जीपीए ल्याएको भन्दै उत्सव मनाइरहँदा, सोही विद्यालयका २ विद्यार्थीले न्यूनतम मापदण्ड पनि पूरा गर्न नसक्नुलाई शिक्षा क्षेत्रका जानकारहरूले विद्यालयको ‘व्यावसायिक आडम्बर’ भनी टिप्पणी गरेका छन् । ‘राम्रा विद्यार्थीलाई मात्रै काखी च्याप्ने र औसत विद्यार्थीलाई वास्ता नगर्ने प्रवृत्तिका कारण यस्तो नतिजा आएको हो,’ एक अभिभावकले भने ।

सामुदायिकका ‘ब्राण्ड’ पनि फ्लप
निजी मात्र होइन, विराटनगरकै नाम चलेका र नमूना घोषित सामुदायिक विद्यालयको अवस्था झनै लज्जास्पद देखिएको छ । विराटनगरको आर्दश माध्यमिक विद्यालयबाट १३ जना विद्यार्थी फेल भएका छन् । ३७८ जना परीक्षार्थीमध्ये ३६५ जना मात्रै उत्तीर्ण हुन सकेका छन् । यस्तै, विराटनगरकै सत्यनारायण माध्यमिक विद्यालयको नतिजा झनै निराशाजनक छ । ३११ जनाले परीक्षा दिएकोमा ४० जना विद्यार्थी फेल भएपछि विद्यालयको शैक्षिक गुणस्तरमाथि प्रश्न चिह्न खडा भएको छ ।
साना स्कुलको ठूलो छलाङ, ४ सामुदायिकले राखे साख
जिल्लाका २२६ संस्थागत विद्यालयमध्ये १४० वटा साना तथा मझौला निजी विद्यालयले आफ्ना शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर ‘ठूला’ भनिएका स्कुललाई चुनौती दिएका छन् । यस्तै, स्रोतसाधनको अभाव झेल्दै आएका मोरङका ४ वटा सामुदायिक विद्यालयले पनि शतप्रतिशत नतिजा ल्याएर नमूना प्रस्तुत गरेका छन् । विराटनगरको जनता नमूना मावि, लक्ष्मी नारायण वेद विद्या आश्रम, ग्रामथानको वीरेन्द्र मावि लखन्तरी र वीरेन्द्र मावि झोराहाटले आफ्ना सबै विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएका हुन् ।
मोरङमा समग्र उत्तीर्ण प्रतिशत ८१.२१ रहे पनि नाम चलेका विद्यालयहरूको यो ‘चिप्ल्याइ’ ले अभिभावक र विद्यार्थीमा नयाँ बहस सिर्जना गरिदिएको छ । ठूला भवन र महँगो शुल्कले मात्रै शिक्षाको गुणस्तर ग्यारेन्टी नगर्ने सन्देश यस वर्षको नतिजाले दिएको छ ।
मोरङमा २२६ संस्थागत र १७३ वटा सामुदायिक विद्यालयहरु रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।